बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर समेत रहेका नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेयको कार्यशैलीका विषयमा पार्टीभित्रै असन्तुष्टी चुलिंदै गएको छ ।
त्यसको ज्वलन्त उदाहरण नगर अधिवेशनमा सभापति पदमा उपविजेता बनेकी रिता केसीले पाण्डेयलाई खुलापत्र लेख्दै पार्टीलाई मृत अवस्थामा पु¥याउन लागेकाले तत्काल वैठक नराखे पार्टी कार्यालयमा धर्ना बस्ने चेतावनी दिएकी छन् । २०७९ बैशाख ३० को चुनावअघि मेयरको उम्मेदवारमा आफैले आफैलाई सिफारिशको निर्णय गर्ने बेला बैठक बोलाएका र चुनाव जितेयता पूर्ण वैठक डाकेको आफूलाई जानकारी नभएको नेतृ केसीले बताएकी छन् ।
बुटवल उपमहानगरपालिकाबासी काङ्ग्रेसमा आस्थावान बुबा आमा दाजुभाइ दिदिबहिनीहरुलार्इ सम्बोधन गर्दै नेतृ केसीले काङ्ग्रेस नगर समितिको वैठक बर्षौसम्म नबस्न , पार्टीलाई चलायमान हुन नदिन र नगर समितिलाई मृत जस्तो गराएर कोमामा लैजानको लागि पक्कै पनि सभापति पदमा पाण्डेयलाई जिताएको होइन होला भन्ने प्रश्न गरेकी छन् ।
नगर सभापतिले केहि दिन भित्र नगर समितिको बैठक नबसाले उपबिजेताको हैसियतले नेपाली काङ्ग्रेसको पार्टी कार्यालय मैनागरमा धर्ना बस्ने उनले स्पष्ट पारेकी छन् । ‘पार्टीको बैठक नै नबस्न, पार्टी चलायमान गराउनबाट बन्चित गराउन वहाँ (खेलराज) लाई कुनै छुट छैन,उहाँको यस्तो गतिविधि हुन्छ भन्ने जानेर म सभापतिमा लडेको हो’–केसीले भनेकी छन् ।
पाण्डेयलाई चुनावमा जिताइसकेपछि के यस्तै क्रियाकलाप गरेर बुटवल कांग्रेसका नेता कार्यकर्ता खुसी हुनुहुन्छ र, पक्कै पनि होइन होला भन्दै नेतृ केसीले छिटोभन्दा छिटो बैठक बसेर नगर पार्टीलाई चलायमान बनाउन माग गरेकी छन् ।
तेस्रो पटक नगर सभापतिमा निर्वाचित भएका खेलराजले ४ सय १२ मत प्राप्त गरेर विजयी हुंदा केसीले १ सय १४ मत ल्याएकी थिइन् । पाण्डेयले स्थानीय चुनावको मुखमा नगर समितिको पूर्ण वैठकलाई छलेर आफैले आफैलाई मेयरको उम्मेदवार सिफारिश गरेका भन्दै तत्कालीन क्षेत्रीय सभापति एवं मेयरका दावेदार हरि लम्सालले पार्टी परित्याग गरेका थिए ।
लम्सालले २०७९ बैसाख ९ गते पाण्डेयलाई इंगित गर्दै इमान्दारी र निष्ठालाई फट्याई, झुठ र बेइमानीले पराजित गरेको अवस्था छ भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए । चुनावमा पाण्डेयले जितेपछि विगतमा उनीसंग निकट सम्बन्ध रहेका अधिकांशले उनको साथ छाडेको कांग्रेस नेताहरु बताउंछन् ।
‘भाषणमा लोकतन्त्रका ठूला ठूला कुरा गर्ने तर पार्टीभित्र लोकतान्त्रिक अभ्यास गर्न नदिने, नखोज्ने र आफै सर्वेसर्वा हो भन्ने दम्भी सोच र व्यवहार नगर सभापतिमा देखियो,यसले पार्टी भित्रभित्रै कमजोर बन्दै गएको अवस्था छ’–केसीले भनिन्–‘पार्टीलाई मृत हुनबाट जोगाउन कोही न कोही त बोल्नैपर्छ, म नगर सभापति चुनावको उपविजेता भएकाले मैले नै फायर खोलेकी हु, मेरो माग छिटो नगर समितिको पूर्ण वैठक बस्नुपर्छ, हरेक वर्ष हहुने सम्मेलन हुनुपर्छ भन्ने हो ।’
नेतृ केसी पार्टीभित्र संस्थापन पक्षकी हुन् । पाण्डेय शेखर कोइराला पक्षका हुन् । केही दिन अघि कांग्रेस बुटवल वडा नं ११ ले १९ वटै वडाका पार्टी नेतृत्व, जनप्रतिनिधिसंग राखेको छलफलमा पनि अधिकांश वक्ताले नगर सभापति एवं मेयर पाण्डेयको कार्यशैली र व्यवहारका कारण पार्टीभित्र चरम असन्तुष्टी बढेको र यसले आगामी चुनावमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने चेतावनी दिएका थिए ।
जनप्रतिनिधिहरुले मेयर पाण्डेयले आफूहरुलाई भेट्न समेत नखोजेको, कुराकानी र छलफल गर्न समेत नचाहेको गुनासो गरेका थिए ।
विगतमा बुटवलमा कोइराला पक्ष बलियो भएपनि मेयर पाण्डेयकै कार्यशैली र व्यवहारका कारण पछिल्लो समय संस्थापन पक्ष नै बलियो हुंदै गएको कांग्रेस नेताहरु बताउंछन् ।




