बुटवल । राजमार्ग खण्डमा सडक निर्माण गर्दा वन्यजन्तु मैत्री पूर्वाधारहरू बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । पूर्वाधार निर्माण गर्दा वन्यजन्तु मैत्री पूर्वाधार नहुँदा दुर्घटना हुने तथा वन्यजन्तुको ज्यान जाने जस्ता घटना हुन थालेपछि वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नको लागि बुटवलमा आयोजित लुम्बिनीमा प्रदेशस्तरीय कार्यशालामा बोल्ने वक्ताहरूले जोड दिएका हुन् ।
सडकहरू बनाउंदा वन्यजन्तुको लागि अन्डरपास राख्नुपर्ने, सिँचाईको लागि निर्माण गरिने कुलो, नहरमा दुर्घटनामा परेका वन्यजन्तु माथि उक्लिन मिल्ने गरी बनाउनुपर्ने, बिद्युुतीकरण गर्दा तारहरूमा स्टिकर लगाउनुपर्ने लगायतका कुराहरूमा ध्यान दिन आग्रह गरेका थिए । जनप्रतिनिधिहरू भने बन क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाइएको भन्दै दुःख व्यक्त गरेका थिए ।
नेपाल विश्व वन्यजन्तु कोष तथा नेचर मिडिया नेटवर्कको आयोजनमा भएको कार्यशालामा पूर्वपश्चिम राजमार्गमा जोडिएका लुम्बिनी प्रदेशका तीन जिल्लाका ७ पालिकाकोका जनप्रतिनिधि, बन निर्देशनालय, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागितामा बोल्ने अधिकांशले अब बन्ने पूर्वाधार वन्यजन्तु मैत्री बन्नुपर्ने उल्लेख गरेका थिए ।
कार्यशालामा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बन र सरकारको समन्वय नहुँदा बनमा कुनै पनि कार्यक्रम हुन नसकेको उल्लेख गरे । उनले सडक निर्माण गर्ने कुरा सङ्घीय सरकार मातहत हुने भएको बताउँदै सामान्य जानकारी बाहेक अन्य कुनै कुरा पनि स्थानीय तहको क्षेत्रभित्र नपरेको उल्लेख गरे ।
यता कपिलवस्तुको शिवराज नगरपालिका प्रमुख अजय थापाले छाडा चौपाया व्यवस्थापन गर्नको लागि गौचरण समेत बनले नदिएको बताए । उनले बन र तीनै तहका सरकारको समन्वयको अभाव महसुस गरिरहेको बताउँदै छाडा चौपायाले अव्यवस्थित तरिकाले सडकमा हुँदा दुर्घटना भएकोले गौचरण माग गरिएको बताए ।
यता पाल्पाको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले आफ्नो पालिकमा ७७ प्रतिशत बढी बन क्षेत्र रहेको बताउँदै वन्यजन्तुको कारणले स्थानीयलाई निकै समस्या परेको बताए । उनले यसको दीर्घकालीन समाधानको बाटो खोज्नुपर्ने बताए ।
कार्यक्रममा अब निर्माणको तयारीमा रहेको बुटवल गोरुसिङ्गे सडक निर्माण आयोजनाका प्रमुख होम बहादुर क्षेत्रीले बस्ती र बन क्षेत्र छुट्टाएर सडक निर्माण गरिने उल्लेख गरे । उनले बस्ती क्षेत्रमा ५० मिटर र बन क्षेत्रमा २५ मिटरको हिसाबले सडक निर्माण हुने बताउँदै अहिले ६ स्थानमा बन्यजन्तुको लागि अन्डर पास निर्माण हुने जानकारी दिए ।
यता लुम्बिनी प्रदेश बन निर्देशनालयका बन निर्देशक दधि कँडेलले देशमा बनेका हरेक कानुनले फरक फरक व्याख्या गर्दा काम गर्न असहज भइरहेको बताए । उनले यो कारणले गर्दा सबैले सोचेझैँ बन क्षेत्रमा काम नहुने जिकिर गरे । उनले वन्यजन्तुको आतङ्कको नियन्त्रणको लागि प्रयास पनि भइरहेको बताए ।
कार्यक्रममा सैनामैना नगरपालिकाका अधिकृत केशवराज अर्यालले पालिकाले कार्यविधि बनाएको बताउँदै अझै कानुन बन्न नसकेको बताए । उनले सङ्घीय कार्यविधिलाई टेकेर कार्यविधि बनाएको बताए ।
प्रदेश पूर्वाधार प्राधिकरणका इन्जिनियर शंकर सुबेदीले सबैले कानुन निर्माण गरेर मात्रै ती कानुन कार्यान्वयन नहुने बताए । उनले निर्माण सँगै सम्बन्धी कानुनको बारेमा सोही क्षेत्रका व्यक्तिहरूलाई राखेर जानकारीमूलक छलफल गर्नुपर्ने बताए ।
कार्यक्रममा डिभिजन बन कार्यालय देउखुरीका वरिष्ठ रेन्जर चिरञ्जीवी खनाल, सामुदायिक बन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य दिननाथ आचार्य, लगायतले बोलेका थिए ।
कार्यक्रममा डा. रोशन शेरचनले प्राकृतिक स्रोत संरक्षणमा रेखीय पूर्वाधारका असर तथा असल अभ्यास, चितवन राष्ट्रिय निकुञ्जका दिल बहादुर पुर्जा पुनले वन्यजन्तु मैत्री पूर्वाधार निर्माणको कार्यविधि र स्थानीय स्तरमा यसको महत्त्व र पुरुषोत्तम खतिवडाले स्थानीय कानुन तथा नीतिहरूमा वन्यजन्तु मैत्री पूर्वाधार निर्माणको मूलप्रवाहिकरणको बारेमा प्रस्तुति राखेका थिए ।




