अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा छहरे खोलाले बगाउँदा एक युवाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । शितगंगा नगरपालिका–१३, सिमलपानीको बिचमा पर्ने छहारामा फोटो खिच्नेक्रममा उनिहरुलाई खोलाले बगाएको थियो ।
कपिलवस्तुको बाणगंगा–२ का २३ वर्षीय किशोर रास्कोटी र सोही ठाउँका २९ वर्षीय उमेश पौडेललाई खोलाले बगाउँदा बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा उमेशको शव झरना भन्दा पाँचसय मिटर तल खोलामा डुबिरहेको अवस्थामा फेला परेको छ ।
किशोरको खोजीकार्य जारी छ । मंगलबार दिउँसो घुम्न निस्किएका चार जना झरनामा फोटो खिचाउन पुगेका थिए । झरनाले चारै जनालाई बगाएको भएपनि दुई जना पौडिएर बाँच्न सफल भएका थिए ।
दुई जना मध्ये एक जनाको शव फेला परेको र अर्का युवाको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।




