बुटवल । संयुक्त उत्पीडीत जातीय मोर्चा नेपालले बुटवलमा बृहत अन्तरक्रिया तथा सुझाब संकलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सरोकारवालाले सामाजिक विकृतिको रूपमा रहेको जातीय विभेद र छुवाछुत अन्त्यसँगै आफ्नो हक अधिकारका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व लुम्बिनी प्रदेशसभा सदस्य दीपा विकले कानुनले छुवाछुत र भेदभावको अन्त्य गरिसकेको भएपनि व्यवहारबाट अझै अन्त्य नहुनु दुःखद रहेको बताइन् । विगतमा भन्दा पछिल्ला दिनमा समाज तीव्र रूपले परिवर्तन भइरहेकोले पुस्ता अनुसार विकृतिहरू हट्दै जाने भए पनि मान्छे, मान्छेबिच हुने विभेदको अन्त्यका लागि सबै जुट्नुपर्नेमा उनले जोड दिइन् ।
संयुक्त उत्पीडीत जातीय मोर्चाका संस्थापक संयोजक डिकबहादुर विकले एक्काइसौँ शताब्दीमा पनि जातीय विभेद र उत्पीडनका कारण नेपाली समाज बदनाम रहेको बताए । पञ्चायत कालदेखि गणतन्त्र आउँदासम्म पनि दलित समुदायको अवस्था सुधार हुन नसकेको बताउँदै राजनीतिमा दलित समुदायको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिए। जातीय जनसंख्याको हिसाबले हक अधिकार पाउनुपर्ने बताउँदै यसका लागि दलित समुदाय एकजुट भएर लाग्नुपर्ने धारण राखे ।
कार्यक्रममा मोर्चाका कार्यबाहक संयोजक प्रेम विकले आफ्नो हक अधिकार प्राप्तीका लागि देशभरका दलित समुदायलाई एकजुट बनाउने उद्देश्यले देशका बिभिन्न ठाउँमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरीएको बताए । जनमुक्ती पार्टीका महासचिव राम परियारले अहिलेको अवस्थामा सम्पूर्ण दलित समुदाय एक हुनुको बिकल्प नरहेको बताए । स्वतन्त्र रुपमा सबै दलित समुदाय एक भएर मुक्तीको आन्दोलन सुरु गर्नुपर्ने उनले बताए ।
यस्तै, बुद्ध अम्बेडकर जागरण मञ्चका अध्यक्ष हरिओम विकले दलित समुदायको मुक्तीका लागि सामुदायिक एकता सहकार्य र संयुक्त आन्दोलन आबश्यक रहेको बताए । बिभिन्न राजनीतिक दल र तिनका भातृ संगठनमा आबद्ध भएरपनि दलित समुदायको हितका लागि आवाज उठाउन नसकेको उनले बताए ।
आइएनएनडिएस्डब्लुओ का केन्द्रिय उपाध्यक्ष रबि बिकले दलित समुदाय भित्रै एकले अर्कोलाई स्वीकार्न नसक्दा एकजुट हुन नसकेको बताए ।
यस्तैगरी दलित जागरण अभियानका संयोजक दधिराम परियार, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोकबहादुर नेपाली, बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य यमबहादुर सुनार, नेपाल भारत मैत्री संघका अध्यक्ष ओमप्रकाश रामदाम, दलित जागरण उत्थान मञ्चका अध्यक्ष राबहादुर विक, विसे नगर्ची फाउन्डेसनका अध्यक्ष रामकुमार रणपाल, दलित जागरण अभियान नवलपुरका अध्यक्ष भीमबहादुर विक लगायतले बोल्दै समाज रूपान्तरणमा सबै एकजुट हुनु पर्ने र आफ्नो हक अधिकारको लागी लड्नुपर्ने बताएका थिए ।
कार्यक्रमको सञ्चालन संयुक्त उत्पीडीत जातीय मोर्चाका प्रचारप्रसार प्रमुख राम टमाटाले गरेका थिए ।




