परासी
भगवान गौतमबुद्धको अस्तूधातु रहेको पवित्र स्थल रामग्राम स्तूप परिसरमा अवैध रुपमा मदिराको व्यापार भइरहेको छ । पवित्र स्थल रामग्राम स्तूपमा खुलेयाम अवैध मदिरा व्यापर हुँदा सम्बन्धित निकाय मौन बसिरहेको छ । रामग्राम स्तूपमा खुल्लायम मदिरा व्यापार हुँदा सम्बन्धित निकायको आलोचना समेत भैरहेको छ ।
रामग्राम नगरपालिका वडा नं. ७ स्थित रामग्राम स्तूपको परिसर पूर्वतर्फ शौचालय नजिकै अनाधिकृत रुपमा टहरा निर्माण गरी मदिरालगायतको व्यापार भइरहेको हो । पवित्र स्थलमा रामग्राम स्तूप गौतम भगवनाको शान्ति क्षेत्र मानिने भएकोले यसरी अवैध रुपमा मदिरा बिक्री वितरण हुँदा समेत लुम्बिनी विकास कोष बेवास्ता गरेको पाइएको छ ।
रामग्राम नगरपालिकाको पनि आलोचना हुँदै आएको छ । रामग्राम नगरपालिकाका मेयर धनपत यादवले लुम्बिनीको क्षेत्राधिकारमा परेको कारण नगरपालिकाले स्तूप केही गर्न नसक्ने बताए । रामग्राम स्तूप परिसरभित्र अवैध रुपमा टहरा निर्माण गरी अवैध रुपमा मदिरा बिक्री वितरण गरेको भन्दै नागरिक समाजले आपत्ति जनाएको छ । शान्ति क्षेत्रलाई भंग हुने गरी स्तूप परिसरमै मदिराको व्यापार हुँदा अन्तर्राष्ट्रियस्तरमै नकारात्मक सन्देश जाने नागरिक समाजको दाबी छ ।
रामग्राम स्तूपको पूर्वतर्फ शौचालय नजिकै अनाधिकृत रुपमा टहरा निर्माण गरी मदिरालगायतको व्यापार भइरहेकोले तत्काल हटाउन माग गरेको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले बताए । स्तूप क्षेत्रमा स्थानीय सरकारलाई समेत कुनै संरचना बनाउन नदिने पुरातत्व विभाग र लुम्बिनी विकास कोषले स्तूप परिसरमै टहरा बनाएर मदिराको कारोबार गर्दा पनि मुकदर्शक बनेको सैथवारले जनाए ।
स्तूपकै परिसरमा टहरासहितका संरचना बन्दा पनि रामग्राम नगरपालिका र लुम्बिनी विकास कोषले बेवास्ता गर्नुले शंका पैदा भएको उनको भनाई थियो । विश्वका बौद्ध धर्मावलम्बीहरुको तीर्थ स्थलको रुपमा रहेको रामग्राम स्तूप परिसरमा भइरहेको मदिरा बिक्रीवितरण कार्यलाई तत्काल रोक्न समेत नागरिक समाजले माग गरेको छ ।
रामग्राम ७ देउरवाका एक स्थानीयले स्तूप नजिकै दुई वटा टहरा बनाएर मदिरासहितको व्यापार गरिरहेका छन् । यही भदौ महिनाको रक्षाबन्धनबाट व्यापार सुरु गरेका उनले चटपट, चाउमिन, वियर र घरपाला रक्सी बिक्री गर्दै आएको बताए । टहरा बनाएको जग्गा आफ्नो नम्बरी जग्गा भएको र लालपूर्जा पनि रहेको उनको दाबी छ ।
यता लुम्बिनी विकास कोषले भने स्तूप क्षेत्रमा कुनै संरचना बनाउन र मदिराको व्यापार गर्न नपाइने भन्दै तत्काल हटाउने बताएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले तत्कालै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी अवैध संरचना हटाउन र मदिराको व्यापार रोक्न लगाउने जानकारी दिए ।




