गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ५ की एक दलित महिला वडा सदस्यलाई निर्वाचन आयोगले पद रिक्त भएको सूचना प्रकाशित गरेको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट त्यस वडाको दलित महिला वडा सदस्यमा विजयी भएकी उर्मिला आचार्य नेपालीको उक्त पद रिक्त भएको सूचना निर्वाचन आयोगले यही भदौ २७ गते प्रकाशित गरेको हो । उनी नेपाली काँग्रेस परित्याग गरी गत वर्ष नेकपा एमालेमा प्रवेश गरेकी थिइन ।
सूचनामा यस्तो ब्यहोरा उल्लेख छ –‘निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सम्बन्धी सूचनामा राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा ( १ ) र राजनैतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको ब्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनु पर्ने कानुनी व्यवस्था बमोजिम नेपाली काङ्ग्रेसबाट संवत् २०७९ सालको स्थानीय निर्वाचनमा गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नम्बर ५ को दलित महिला सदस्य श्री उर्मिला आचार्य नेपालीले अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनैतिक दल सम्बन्धी नियमावली , २०७४ को नियम २२ को उपनियम ( २ ) र ( ३ ) बमोजिम निज उर्मिला आचार्य नेपाली निर्वाचित भएको गाउँपालिका वडा नम्बर ५ को दलित महिला सदस्यको पद स्वतः रिक्त हुने भनी आयोगबाट मिति २०८१ । ०५ । २५ गते निर्णय भएको हुँदा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । ’
नेपाली काँग्रेस गुल्मीका जिल्ला कार्य समिति उपसभापति अनन्तराम पौड्यालका अनुसार आचार्य नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि पदमा थिइन । जसले दलित महिला वडा सदस्यमा उम्मेदवार हुने असाध्यै इच्छा जाहेर गरेको र बढी सक्रिय पनि भएकोले उनी भन्दा पुराना दलित महिला कार्यकर्तालाई पछाडि हटाएर उनलाई उम्मेदवार बनाइएको छत्रकोट गाउँपालिका घर भएका नेता पौड्यालको भनाई छ ।
झापा स्थित आचार्य थर भएका ब्राह्मण समुदायकी छोरी उर्मिला गुल्मी स्थित त्यस वडाका तिलक नेपाली सँग अन्तरजातीय विवाह गरी आए पछि दलित महिला वडा सदस्यको उम्मेदवार भई विजयी भएकी थिइन् । यस विषयमा छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे सँग बुझ्दा उनले भने –‘निर्वाचन आयोगको सूचना तपाईँले जस्तै मैले पनि फेसबुकमा देखेको हुँ तर पालिकालाई पद रिक्त सम्बन्धी पत्र आएको छैन , आए पछि त्यसको विधि प्रक्रिया के छ बुझौला । ’
यस सम्बन्धमा उनै आचार्य नेपालीको प्रतिक्रिया माग्दा आफूलाई आधिकारिक रूपमा पत्र प्राप्त नभएकोले कुनै प्रतिक्रिया नदिने बताइन । आचार्य नेपाली २०८० चैत्र २३ गते नेपाली काङ्ग्रेसबाट एमालेमा प्रवेश गरेकी थिइन । बुटवलमा भएको एक कार्यक्रममा उनलाई एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पार्टीमा स्वागत गरेका थिए ।




