बुटवल । लुम्बिनी प्रदेश सरकारको इतिहासमा नै नेपाली काँग्रेसबाट महिला मन्त्री बनेका छैनन् ।अहिलेसम्मको समष्टिगत हिसाब हेर्दा लुम्बिनी प्रदेश सरकारमा ५५ जना मन्त्री बन्दा लुम्बिनी प्रदेश सरकारमा काँग्रेसको तर्फबाट महिला मन्त्री नबन्दा समावेशी हुनुपर्ने माग उठ्न थालेको छ ।यति बेला लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमालेका दल नेता चेतनारायण आचार्यले गरिरहेका छन् ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद्मा नेपाली काँग्रेसको तर्फबाट महिला मन्त्री नभएपछि नेपाली काँग्रेसका महिला सांसदहरू क्रियाशील बनेका छन् । उनीहरूले नेपाली काँग्रेसको तर्फबाट अब बाँकी रहेका २ वटा नै मन्त्रीमा महिला मन्त्री बन्नुपर्ने माग गर्न थालेका छन् ।
नेकपा एमाले र नेपाली काँग्रेसबिच भएको मन्त्रालय बाँडफाँडका क्रममा नेपाली काँग्रेसले पाएको ५ मन्त्रालय मध्य ४ मन्त्री नियुक्त भएका थिए भने एक स्थान रिक्त थियो । यद्यपि बन मन्त्री बादशाह कुर्मीको विरोध आएपछि राजीनामा दिएपछि काँग्रेसका ३ मन्त्री मात्रै सरकारमा रहेका छन् ।
नेपाली काँग्रेसका ९ जना महिला सांसदहरूले महिला मन्त्री बनाउनुपर्ने माग गर्दै संसदीय दलका नेता समक्ष भेटवार्ता गरेका छन् । भेटवार्तामा अब महिला मन्त्री बनाउने विषयमा छलफल भएको नेपाली काँग्रेस लुम्बिनी प्रदेशसभाका सचेतक निमा गिरीले जानकारी दिइन् ।
उनले संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसमक्ष काँग्रेसका ९ जना महिला सांसदहरूले यो विषयमा छलफल गरेको जानकारी दिइन् ।
उनले कुराकानी गर्दै भनिन्,‘मन्त्री क्षेत्र हेरेर प्रतिनिधित्व हुनुपर्ने हो, लुम्बिनी प्रदेशमा ५४ प्रतिशत महिला रहेका छन्। तर विडम्बना अहिलेसम्म लुम्बिनी प्रदेशमा काँग्रेसबाट महिला मन्त्री बनेका छैनन् । त्यही विषयमा नै हामी सक्रिय छाँै।’
उनले कुन मन्त्रालय वा कुन मन्त्री भन्नेमा भन्दा पनि महिला मन्त्री बनाउनको लागि प्रयासरत रहेको बताइन् । उनले भनिन्,‘ जुन बनाए पनि बाँकी रहेको २ वटामै महिला मन्त्री बनाउनको लागि हामीले माग गरेका र्हाँै । काँग्रेसबाट सबै प्रदेशमा मन्त्री बनेका छन् । हाम्रो मात्रै महिला मन्त्री नबने पछि हामी क्रियाशील भएका हाँै ।
काँग्रेस सचेतक गिरी सहित सांसदहरू जमुना ढकाल,लोकी बिक, सुशीला बादी, धनलक्ष्मी श्रेष्ठ, मिना सिद्धिकी, माया पुन, मालती सोडारी र सञ्जु चौधरीको टोलीले चौधरीलाई भेट गरी माग राखेको सचेतक गिरीले जानकारी दिइन् ।
समावेशिताको विषयमा नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्दे उनले यदि सबैको सहभागिता हुने गरी नेतृत्व गर्न नसेको मार्ग प्रशस्त गर्नु आग्रह गरिन् । उनले बिपी कोइराला र द्वारिकादेवी ठकुरानीका कुरामा मात्रै जनता झुलाउने काम नगर्न आग्रह गर्दै अब डिल्ली चौधरीको प्रशंसा गर्दै हिँड्न पाउने वातावरण तयार पार्न आग्रह गरेको जानकारी दिइन् ।
उनीहरूले सबै प्रदेशमा महिला मन्त्री बन्दा लुम्बिनीमा किन बनेनन् ? भन्दै संसदीय दलका नेताको रूपमा भूमिका देखाउन आग्रह गरेको सांसद जमुना ढकालले बताइन् । उनले पार्टीभित्रका विभिन्न बिचार राख्ने समूहलाई ध्यान नदिई महिला मन्त्री जुनसुकै हालतमा बनाउन भूमिका खेल्नुपर्ने माग गरेको बताइन् ।
यता नेपाली काँग्रेस संसदीय दल नेता डिल्ली बहादुर चौधरीले मन्त्रीको विषयमा अझै पनि केन्द्रबाट नै निर्णय हुने भएको आफूले सामान्य सिफारिस मात्रै गदै आइरहेको बताएको गिरीले बताइन् । उनले यसको लागि केन्द्रसम्म नै आवाज उठाएमा आफूलाई सजिलो हुने तर्क राखेको सचेतक गिरीले जानकारी दिइन् । यता सांसदहरू भने महिला मन्त्री बनाएरै छाड्नेगरि क्रियाशील भएको बताएका छन् ।




