बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुमिश्वर ढकालले निर्माण व्यवसायीले गुणस्तरीय काम गरेर मुलुकको समृद्धिमा योगदान गर्न आग्रह गरेका छन् । नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटीको पदस्थापनमा बोल्दै मन्त्री ढकालले निर्माण व्यवसायी इमान्दारी भएर अघि बढ्दा मुलुकले लाभ पाउने बताए ।
उनले व्यवसायी इमान्दार भइ काम गर्दा मन्त्रालय र मातहतका कर्मचारीले अनावश्यक दुःख दिए कारवाही गर्ने बताए । ॅतपाईहरु ढुक्कले काम गर्नुस्, अनावश्यक दुःख दिए गुनसो लिएर आउनुस्, दुःखदिनेलाई कारवाही हुन्छ,—उनले भने ।
उनले लामो समयदेखि रोकिएको निर्माण व्यवसायीको भुक्तानी छिट्टै हुने जानकारी दिए ।नेपाल निर्माण उद्योग परिषदका केन्द्रीय अध्यक्ष बलिभद्र रानाले निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण बदल्ने गरी काम गर्न आग्रह गरे ।
केन्द्रीय उपाध्यक्ष मञ्जु भुसालले व्यवसायिक हकहितका लागि व्यवसायीको एकताबारे चर्चा गरिन् । पदस्थापन कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य गोपाल राना, जिल्ला अध्यक्ष यज्ञ गैरे, प्रदेश सल्लाहकार नवराज श्रेष्ठ, पुष्यप्रसाद पौडेल लगायतले मन्तव्य व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष नारायण भुसाललाई निर्वतमान अध्यक्ष बलिभद्र रानाले निणर्य पुस्तिका हस्तान्तरण गरेर पदस्थापन गरेका थिए । त्यसैगरी, नेपाल निर्माण उद्योग परिषदको अध्यक्षमा निर्वाचित बलिभद्र राना, उपाध्यक्षमा निर्वाचित मञ्जु भुसाल सहित निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो ।




