जगिलाल थापा - कञ्चन । “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता“ भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस-२०८१ को अवसरमा रुपन्देहीको कञ्चन गाउँपालिकाले माध्यमिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक तथा बिद्यार्थीहरुलाई सम्मान गरेको छ।
कञ्चनको विद्यालय शिक्षालाई अझ स्तरबृद्धि गर्नमा प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा माध्यमिक शिक्षा परीक्षामा शत प्रतिशत उत्तिणर् गराउने १५ शिक्षक, आधारभूत उत्तिणर् परीक्षामा शतप्रतिशत उत्तिणर् गराउन सफल विषयगत ५७ शिक्षक र उत्कृष्ट नतिजा ल्याई उत्तिणर् हुने ५९ जना बिद्यार्थीहरुलाई सम्मान गरिएको हो।
विद्यालय, शिक्षक तथा बिद्यार्थीहरुलाई सम्मान गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले समतामूलक समाज र मानवीय विकासमा शिक्षाको महत्त्वपूर्ण भूमिका हुने बताए ।
उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनलाई शिक्षाको क्षेत्रमा अब्बलता कायम गर्न नयाँ ऊर्जाका साथ विद्यालय प्रवेश गरेका हरेक शिक्षकहरूले समयानुकूल शिक्षण क्रियाकलापलाई प्रयोगमा ल्याउनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा शिक्षा समितिका सदस्य तथा कार्यपालिका सदस्य कुमारी घर्ती, शिक्षा समितिका सदस्य लीला कुमारी पौडेल, शिक्षा समितिका सदस्य लेखनाथ पौडेल, शिक्षा अधिकृत रमेश भुसाल लगायतले बोलेका थिए ।




