बुटवल । संयुक्त दलित संघर्ष समिति रुपन्देहीद्वारा बुटवलको ट्राफिकचोकमा खबरदारी सभा बिहीबार सम्पन्न गरेको छ । नेपालको संविधान २०७२ को धारा २४ र ४० मा भएको व्यवस्था लागू गर्न माग गर्दै र काठमाडौँमा नेलसहित दलित अभियान्ता खगेन्द्र सुनारको ‘दलितलाई खै’ भन्ने एक सुत्रिय आन्दोलनलाई समर्थन गर्दै संघर्ष समिति रुपन्देहीले खबरदारी कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा बोल्ने अधिकांश दलित नेता तथा अगुवाहरुले २१औं शताब्दीमा पनि जातीय विभेदको अन्त्य हुन नसकेको र संविधानले दिएको अधिकारलाई राज्यले कार्यान्वयन गराउन नसकेको गुनासो गरे ।
कार्यक्रममा परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोकबहादुर नेपाली, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रीय उपाध्यक्ष रवि विक, परियार सेवा समाज रुपन्देहीका वरिष्ठ उपाध्यक्ष नगेन्द्र दर्जी, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सावित्रा विक, राष्ट्रिय दलित पत्रकार संघ नेपाल, रुपन्देहीका अध्यक्ष टंक सुनारलगायतले बोल्दै संविधानले दिएका अधिकारहरुलाई राज्यले लिपिबद्ध गरेर व्यवहारमा कार्यान्वयन गनुपर्ने बताए ।
कार्यक्रममा विसे नगर्ची एकताको प्रतिक नेपालका अध्यक्ष रामकुमार रणपाल, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य दीपक विक, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, सिर्जनशील सहयात्री साकोसका अध्यक्ष हरिबहादुर बोमरेल, लुम्बिनी स्वतन्त्र सिलाइ व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कमल छिनाल, फेडो रुपन्देहीका अध्यक्ष मनु खड्का, नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ तिलोत्तमा नगर कमिटीका अध्यक्ष प्रेम परियार, महासचिव फणिन्द्र घेलेलगायतका विभिन्न संघसंस्था तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
दलितका लागि दलित आन्दोलन नेपालका प्रमुख तथा अभियान्ता खगेन्द्र सुनारले दलितलाई राज्यका प्रमुख तहमा समावेश गर्नुपर्ने मागसहित ४५ दिनदेखि काठमाडौंमा नेलसहितको आन्दोलन गरिरहेका थिए । असोज ३ गते संविधान दिवसलाई कालो दिनका रुपमा मनाउँदै देशभरका दलितहरु काठमाडौंमा पुगेर बृहत आन्दोलन गरेको छ । सोही आन्दोलनलाई समर्थन गर्दै संयुक्त दलित संघर्ष समितिले बुटवलमा पनि खबरदारी कार्यक्रम गरेको हो । संघर्ष समिति रुपन्देहीका अध्यक्ष हरिओम विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिव पदम विश्वकर्माले सञ्चालन गरेका थिए ।




