परासी । चाडपर्व नजिकिँदै जाँदा महँगी र कालोबजारी बढेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले बजार नियन्त्रण गर्न माग गरेको छ । मञ्चले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै चाडपर्वलाई मध्यनजर गर्दै तत्काल प्रभावकारी बजार अनुगमन गर्न माग गरेको हो ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली र जिल्ला अध्यक्ष अधिवक्ता सरस्वती शर्माको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै नियमित र प्रभावकारी बजार अनुगमन गर्न ध्यानाकर्षण गराएको हो ।
दसैँ,तिहार,छठ लगायतका चाडपर्वको मौका छोपेर बजारमा मूल्यवृद्धि, कृत्रिम अभाव, कालोबजारी,गुणस्तरहिन वस्तुहरूको विक्री वितरण भइरहेको आम नागरिकबाट गुनासो आइरहेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र सम्बन्धित विषयगत कार्यालयले उपभोक्ता ठगी गर्ने कार्य नियन्त्रण गर्न तदारुकता नदेखाएकोले प्रशासनको ध्यानाकर्षण गराइएको मञ्चका केन्द्रीय सदस्य ज्ञवालीले बताए ।
वार्षिक रूपमा कार्य योजना बनाएर नियमित रूपमा बजार अनुगमन गर्नुपर्नेमा त्यसो नभएको र चाडपर्व सुरु भइसक्दा पनि बजार अनुगमनमा संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले उदासीनता देखाउँदा मञ्चले चासो व्यक्त गरेको छ ।
मञ्चकी अध्यक्ष सरस्वती शर्माले चाडपर्वको समयमा दैनिक उपभोग्य सामग्रीको सहज र सरल रूपमा पहुँच हुने व्यवस्था गर्न,देखावटी बजार अनुगमन भन्दा नेपाल सरकारले तोकेको र कारबाही गर्ने अधिकार प्राप्त निरीक्षण अधिकृतको नेतृत्वमा नियमित र प्रभावकारी बजार अनुगमन गर्न,चाडपर्वमा बढी खपत हुने खाद्यवस्तु, माछा मासु, लत्ताकपडा,,फलफूल,तरकारी एवं अति आवश्यक वस्तुहरू, यातायात,होटल,मिठाई पसलमा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त वातावरण बनाई उपभोक्ताले महसुस गर्ने गरी परिणाममुखी बजार व्यवस्थापनको कार्यलाई तत्काल अघि बढाउन माग गरिएको बताइन ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बजार अनुगमनलाई तीव्रता दिन घरेलु तथा साना उद्योग कार्यालयलाई निर्देशन दिएको बताउनुभयो । बजार अनुगमन भइरहेको दाबी गर्दै प्रजिअ श्रेष्ठले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिइने बताइन ।




