बुटवल । बाढी र पहिरोले काठमाण्डौ जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् । मुग्लिन–काठमाण्डौ, सिन्धुली–काठमाण्डौ, सिन्धुपाल्चोक–काठमाण्डौसहित अरू सडक पनि पहिरोले अवरुद्ध भएका छन् । काठमाण्डौसँग अरू जिल्लाको आवतजावत टुटेको छ । देशका अरू ठाउँमा पनि सडक अवरुद्ध भएका छन् ।
सडक विभागका अनुसार देशका २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति भएको छ । मुग्लिन–पोखरा, नारायणगढ–मग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्डलगायतमा पहिरोले क्षति पुर्याएकाे छ । कतिपय ठाउँमा पुल नै बगेका छन् । मेची राजमार्गको हेवाखोला र अरनिको राजमार्गको लार्चाको बेलिब्रिज बाढीले बगाउँदा आवागमन अवरुद्ध भएको छ ।
सडक विभागका अनुसार अब पानी पर्ने क्रम केही कम भएको र बन्द सडक खुलाउने र तत्काल सडक खुल्न नसकेको अवस्था वैकल्पिक व्यवस्था गर्ने लगायका काम थालिएको छ । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बाढीले बगाएको ठाउँमा खोलाबाट तत्कालका लागि अस्थायी सडक बनाएर वा बाँध बाँधेर भए पनि यातायात सञ्चालनमा ल्याउने बताए।
यसैबीच नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको धादिङतर्फको मुखैमा लेदोसहितको पहिरो खसेर अलपत्र परेका सयौं यात्रुको उद्धार गरिएको छ । पहिरोको मुखमा अलपत्र यात्रुलाई सुरुङमार्ग आयोजनासँग समन्वय गरी उद्धार गरेर काठमाण्डौ निकालिएको सडक विभागका महानिर्देशक पोखरेलले बताए ।




