परासी । पश्चिम नवलपरासीको बर्दघाटमा देशकै दोस्रो ट्रमा सेन्टरको शिलान्यास गरिएको छ ।ट्रमा सेन्टरको शिलान्यास स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका हुन ।शिलान्यास गदै मन्त्री पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन अस्पतालहरूको सेवाको आधारमा वर्गीकरण गर्नु पर्ने आवश्यकता रहेकाे बताएका छन।
उनले भने धेरैले अस्पताललाई शैयाका आधारमा वर्गीकरण गरेको उल्लेख गर्दै मन्त्री पौडेलले शैयाका आधारमा नभइ सेवाका आधारमा अस्पतालहरुको वर्गीकरण गरि सेवालाई बिस्तार गर्नु पर्ने बताए । मन्त्री पौडेलले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गर्दै स्वास्थ्य नीति निर्माण गर्नुपर्ने जाेड दिए ।उनले उपकरण र दक्ष जनशक्तिलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु उल्लेख गरे
हाल नेपालमा १० देखि १२ जना बिरामीले दैनिक स्वास्थ्य उपचारको लागि हारगुहार गर्नुपर्ने अवस्था रहेको बताउदै देशमा ५ लाख जनाले आफ्नो स्वास्थ्य उपचारको अभावका कारण गरिबीको रेखामुनि धकेलिने तथ्य प्रस्तुत गरे । स्वास्थ्य बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने तयारी भइरहेको र स्वास्थ्य बीमा प्रणालीलाई थप प्रभावकारी बनाउन रोजगारमा रहेका सबैले मासिक २ प्रतिशत योगदान गर्नुपर्ने मन्त्री पौडेलकाे भनाई थियोे ।
हालसम्म १६ लाख मानिसहरूले स्वास्थ्य बीमामा सहभागिता जनाइसकेको र आगामी वर्षहरूमा यस संख्या ६० लाख पुर्याउने लक्ष्य रहेको जानकारी दिए । उनले जनसहभागिताको योगदानमा आधारित स्वास्थ्य बिमाबाट स्वास्थ्य सेवामा प्रदान गर्ने योजना रहेको बताए ।
प्रतिनिधि सभा सदस्य विनोद चौधरीले काठमाडौं बाहिरको पहिलो पटक बर्दघाटमा बन्न लागेको ट्रमा सेन्टरले दुर्घटनामा पनि अकालमा ज्यान गुमाउनु नपर्ने बताए । बर्दघाटमा बन्न लागेको ट्रमा सेन्टरले यात्रुहरूको बीमाको रूपमा कार्य गर्ने चौधरीले बताए ।
पूर्व स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले अस्पतालहरुलाइ स्थानीय तहले व्यवस्थापन गर्न कठिन रहेको बताए । "दक्ष जनशक्ति तथा भौतिक संरचना र दक्ष जनशक्तिको व्यवस्थापनको खर्च स्थानीय तहले थेग्न सक्दैनन " भने । विकासका जनताको काम भएको भन्दै जनताको काममा अनावश्यक राजनीति गर्न नहुने उनकाे भनाई थियोे ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु मगरले संविधानमा उल्लेखित स्वास्थ्य सेवा प्रवाहलाई स्रोतको कमीले तीनै तहको सरकारले पूरा गर्न नसकेको बताए । नेपालले २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्न स्वास्थ्य र शिक्षामा अझै धेरै काम गर्नुपर्ने आवश्यकता औंल्याए ।बर्दघाट नगरपालिकामा
ट्रमा सेन्टर ९ करोड १ लाख ५३ हजार ७ सय ६४ रुपैयाँ लागतमा निर्माण हुन लागेकाे छ ।
१८ महिनामा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पौष २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ। लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठकले स्थानीय स्तरमा जन सहभागीबाट सञ्चालित भएका अस्पतालहरुलाई राज्यले सञ्चालन गर्नु पर्ने धारणा राखेका थिए ।
बर्दघाट ट्रमा सेन्टरको शिलान्याससँगै यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्नेछन्। बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नया आयम ल्याएको बताए ।
कार्यक्रममा पश्चिम नवलपरासीका पालिका प्रमुखहरु, जिल्लामा सक्रिय राजनीति दलका प्रतिनिधि र स्थानीयहरुको उल्लेखनिय सहभागी रहेको थियो ।




