भैरहवा । ट्राफिक प्रहरीले केही दिनअघि लेन अनुशासनको अभियान नै चलायो । महिनौदेखि बेलहिया – भैरहवासम्मको बाटो अवरुद्ध भएकै बेला निकै तामझामका साथ अभियान चल्यो र सकियो, तर सडकको अवस्था उस्तै छ, अझैँ पनि सडक एक लेनमै चलिरहेको छ । ओभरलोडले बेलहिया–भैरहवा सडक खण्डको बायाँको लेन भासिएको महिनौ भयो मर्मत नहुँदा अझँै पनि पूर्णरुपले सडक सुचारु भएको छैन ।
लेनअनुसार सवारी साधन नचलाउँदा दुर्घटना भएको भन्दै जिल्ला प्रशासन कार्यालय रूपन्देही, जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सडकमै पुगेर चालकहरूलाई लेनको बारेमा सचेतनामूलक कार्यक्रम गरेका थिए । सडक अवरुद्ध भई गलत लेनबाट गाडीको आवगमन भएकै बेला लेन अनुशासनको नमूना अभियान रुपन्देहीमा चलेको थियो । अभियानमा चालकहरूलाई लेन अनुशासन शिक्षा तामझामका साथ गरियो, तर अवस्था ज्यूँका त्यूँ छ ।
बेलहिया बुटवल सडक खण्डमा सर्भिस लेनसहित ६ लेनको सडक विस्तारसँगै फराकिलो सडक भए पनि सडक प्रयोगको मापदण्ड भने लागू भएको छैन । लेनहरु जथाभावी प्रयोग गर्दा सडक अस्तव्यस्त मात्र बनेको छैन, दुर्घटनाको जोखिमसमेत बढेको छ ।
सडक विस्तार गर्दा सर्भिस लेनमा छोटो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने मापदण्ड सहित बनेकोमा सर्भिस लेनमा पर्किङ भएका छन् । उद्योग, कलकारखाना, बैंक, वित्तीय संस्था, व्यापारिक प्रतिष्ठानलगायतले सर्भिस लेनलाई पार्किङ्स्थलका रुपमा प्रयोग गरेका छन् । फुटपाथसहित सर्भिस रोडमा सकेत जथाभावी पार्किङ् गर्दा पैदल यात्रीलाई समस्या भएको सामाजिक अगुवा विजय सागर श्रेष्ठले बताए । यसरी जथाभावी पार्किङ् गर्दा र एउटा लेनमा चल्नुपर्ने साधन उल्टो लेनमा चल्दा दुर्घटनाको जोखिम धेरै भएको उनले बताए ।
सवारी चालकलाई लेनको उपयोगिता र महत्वको बारेमा जानकारी गराउनु पर्छ । खासमा सर्भिस लेन सार्वजनिक यातायात चल्नु पर्नेमा ६ लेन सडकमा गुडिरहेका छन् । कुन सवारी साधन कुन लेनमा गुड्ने भन्ने स्पष्ट मापदण्ड भए पनि त्यसको बेवास्ता भएको छ ।
भैरहवा–बुटवल सडक निर्माण हुन थालेको दशक भयो, तर अझँै न त निर्माण सम्पन्न भएको छ, न हस्तान्तरण नै । केही खण्डहरु निर्माण भएर मर्मत भएका छन् भने केही सम्पन्न हुन सकेका छैनन् । भैरहवा विकसित शहरमध्येको सूचीमा पर्छ । बढी चहलपहल हुने क्षेत्रको रुपमा यहाँ दिनानुदिन विकाससँगै सडक सञ्जालमा सवारी साधनको चाप बढ्दै जाँदा पनि व्यवस्थापनतर्फ ध्यान नदिँदा अस्तव्यस्त भएका छन् । ६ लेनको सडकमा एकतर्फी मुख्य लेन नै महिनौदेखि बन्द गरी एउटै लेनबाट सवारी आवगमन गराइँदैछ । बेलहियादेखि भैरहवासम्मको यात्रा गर्दा कहिले दायाँ सडक त कहिले बायाँ सडक हँुदै सवारी हाक्नु परेको छ । निर्माण कम्पनीले समयमा कम नगर्दा र नबिग्रेका सडक पनि अवरुद्ध गरी मर्मत गरेकोले आम सर्वसाधरणले सास्ती खेप्नु परेको छ । सडकलाई अस्तव्यस्त गर्दा दुर्घटना पनि निमित्ने र ट्राफिकले लागू गरेको लेन अनुशासन पनि चालकले कसरी पालना गर्ने ?
रुपन्देहीको भैरहवामा यि मात्रै होइनन्, नम्बर प्लेट अस्पष्ट भएको छरपस्ट देखिन्छ । मुख्य चोक बुद्धचोकका फुटपाथ अवरुद्ध हुँदा समेत नियामक निकायको ध्यानाकर्षण भएको पाइदैन । बसपार्कबाट छुट्नु पर्ने गाडी चोक र सर्भिस रोड बसपार्कको रुपमा परिणत भएको छ ।
ट्राफिक लाइट नबल्दा दुर्घटनाको जोखिम
ट्राफिक व्यवस्थापनका लागि बुद्धचोक र देवकोटा चोकमा रहेको ट्राफिक लाइट महिनौ दिनबाट बल्न छाडेका छन् । स्वचलित रुपमा बल्नुपर्ने ट्राफिक बत्ती नबल्दा चालकहरु झुक्किएर झन दुर्घटनाको जोखिम बढेको छ । ट्राफिक लाइटले काम नगर्दा ट्राफिक व्यवस्थापन स्वचालित नहुने र चालक आफ्नै सुरमा गाडी हाक्ने गरेका छन् । बेलाबखत सडकमा भएको ट्राफिक प्रहरीले हातको इशाराले संकेत गरे पनि ड्युटीमा भएको प्रहरी पनि छेउमा मोबाइल चलाउँदै र कुराकानीमै मस्त हुन्छन् ।
ट्राफिक लाइट स्थानीय तहले नै जडान गरेकोले मर्मतको पाटो पनि स्थानीय तहकै हो । ट्राफिकले बिग्रिएका ट्राफिक लाइट बनाउन सक्दैन, ट्राफिक प्रहरीसँग यसको लागि बजेट पनि नहुने हुँदा प्राविधिक पाटो, सर्भर सिस्टम पनि ट्राफिक कार्यालयमातहत हँुदैन ।
बेलहिया–बुटवल सडकमा थुपै स्थानमा लाइट छन्, लाइट बले पनि अधिकांश ट्राफिक लाइटको टाइमिङ र सिङ्क्रोनाइज मिलेको छैन । एउटै निकाय मातहत नभएकोले एउटा चोकमा राखिएको ट्राफिक लाइट अर्को चोकसँग लिंक भएको छैन । जुन–जुन निकायले जडान गरिदिएका छन् लाइट ती निकायमै रहेका सर्भर सिस्टमबाट कन्ट्रोल हुने र बिग्रँदा पनि ट्राफिक प्रहरीले समन्वय गर्ने बाहेक केही गर्न सक्दैन ।
कम जनशक्तिले प्रविधिको प्रयोगबाट ट्राफिक व्यवस्थापन सहज हुने भएकोले यसतर्फ ध्यान दिन जरुरी छ । ट्राफिक प्रहरीले बाटो मर्मतको कारणले केही महिनादेखि लाइट नचलेको जानकारी दिएको छ ।
पार्किङ्को अभाव झेल्दै भैरहवा, फुटपाथमा पर्किङ्
भैरहवामा सडकचाप बढे पनि पार्किङ्को अभाव नै रहेको छ । सडकमा सवारी साधनको चाप दिन प्रतिदिन बढ्दै गए पनि पार्किङ् स्थलको व्यवस्थापन हुन नसक्दा भैरहवा अस्तव्यस्त हँुदै गएको छ ।
जिल्ला ट्राफिक कार्यालयलले नगरपालिका र व्यवसायिक संघ स्स्थाको समन्वयमा सडकको एकातर्फ पार्किङ् स्थल तोके पनि बढ्दो सवारीसाधनको चापले गर्दा सर्वसाधरणका साथै बजार गर्न आउने आन्तिरक तथा बाह्य पर्यटकहरुलाई समेत सास्ती खेप्नु परेको छ ।
भैरहवाको बम्रेली टोलतर्फ फुटपाथमै पार्किङ् गरिएको छ । पैदल यात्रुको सहजताका लागि बनाइएको फुटपाथमा मोटरसाइकलहरु क्रमबद्ध रुपमा पार्किङ गरि राखिएको छ । अव्यवस्थित पार्किङ्मा कडाई गर्दै आएको ट्राफिक र नगरपालिकाले फुटपाथमा पार्किङ् गर्दा भने रमिते बनेको छ ।
यस्तै भैरहवाको मुख्य बजार बैंकरोड, मिलनचोक, नारायण पथ, गल्लामण्डी, आवा रोडलगायतका क्षेत्रमा पार्किङस्थल अभावको मुख्य मारमा मोटरसाइकल, र कार धनीहरु परेका छन् ।
सडक जामकै कारण कर्मचारीहरु पनि कार्यालयमा समयमा समेत पुग्न सकेका छैनन् । जाम त एकातिर भयो, कुनै काम विशेषले कहि कतै जान पर्ने भयो भने मुख्य बजारमा पार्किङ् गर्ने ठाउँ नै पाइदैन । स्थानीय निकायले पनि आवश्यक पार्किङ् स्थलको छनोट गरी व्यस्थापन गर्नुपर्नेमा चासो नदिँदा नगर नै अस्तव्यस्त बन्दै छ ।
राज्यले सवारी गुडाए वापत हजारौँ कर लिन्छ तर सडम मर्मत तथा बिस्तारमा खासै ध्यान दिँदैन, नगरपालिकाले पनि घर बनाउन नक्सा पास गर्छ, पसलको दर्ता गर्छ, तर कही कतै पार्किङ्को बारेमा सोँच्दैन त्यही कारणले पनि पार्किङ्मा समस्या आउने गरेको छ ।
भैरहवाको मुख्य बजार बैकरोडमा प्रायः दैनिक रुपमा सयौँ भारतीय पर्यटकहरु आउछन, तर बजारमा पार्किङ् स्थलको अभाव हुँदा बजार नै नगरी जाने गरेको व्यवसायीहरुको भनाइ छ । पार्किङ् स्थलकै अभावका कारण पनि केही व्यवसायी बजारभन्दा बाहिर फैलिरहेका छन् । बाहिरबाट आएका ग्राहकहरुलाई पार्किङ्बारे अवगत नहँुदा गलत ठाउँमा पार्किङ् गर्छन्, जसले गर्दा ट्राफिकले जरिवाना गर्नुपर्ने बाध्यता छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक रञ्जु केसीले पार्किङ् स्थलको अभावका कारण बजारमा ट्राफिक व्यवस्थापन गर्नका लागि आफूहरुलाई पनि समस्या परेको बताए ।
ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार सदरमुकाम भैरहवामा मात्रै दैनिक साना तथा ठूला गरी करिब १८ हजार सवारी साधन गुड्ने गर्दछ । जसमध्ये दैनिक करिब १४ हजार गाडीलाई कुनै न कुनै बेला बजारमा पार्किङ्को आवश्यकता पर्दछ ।
सिद्धार्थनगर नगरपालिकाले पार्किङ्स्थलको व्यवस्थापनका लागि निजी क्षेत्रको सहकार्यमा पार्किङ् स्थलको व्यवस्थापन भए पनि यसले पूर्णता पाएको छैन । केही ठाउँमा मात्रै पार्किङ् व्यवस्थापन भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रंजितसिंह राठौरले ट्राफिकमा जनशक्ति कम हुने भएको सहकार्यमा चेकजाँच गर्ने र सुरक्षाका लागि जनशक्ति परिचालन गर्ने बताए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्याम खत्रीले ट्राफिक लाइट र सिसीटिभी स्थानीय तहले न जडान गरिदिएको हो र मर्मतको काम पनि स्थानीय पालिकाले नै गर्ने हुँदा केही समस्या भए हामीले समन्वय गरेर सञ्चालनको प्रयास गर्ने जनाए । सडक पूर्वाधारको हकमा संघ, प्रदेश र स्थानीय सरकार मातहतको सडकको पूर्वाधार बनाउने जिम्मेवारी पनि सोही निकायको नै हुने हुँदा हाम्रो समन्वयकारी भूमिका रहने उनले बताए । ‘हामीले ट्राफिक व्यवस्थापनलाई नै भएको जनशक्ति र स्रोत साधनको अधिकतम प्रयोग गरी व्यवस्थापन गर्ने गरेका छौं ।’–उनले भने ।
अहिले रुपन्देहीको हकमा लेन अनुशासनमा जोड दिई धेरै सुधार भएको छ, लेन अनुशासन पालन नगर्नेलाई कारबाही पनि गरेको एसपी खत्रीले बताए । ‘सिद्धार्थनगरको पार्किङ् र ई–रिक्सा सम्बन्धमा पनि छलफल भएको छ, नगरपलिकाले त्यसको व्यवस्थापनमा लागेको छ, हामीले सहकार्य गरिरहेका छौं ।’–उनले भने ।
नगरपालिकाको समन्वयमा नै फुटपाथमा पार्किङ् गरिएको हो, तत्कालका लागि पार्किङ् ठाउँको अभावका कारण फुटपाथमा पार्किङ् गर्नुपर्ने बाध्यता छ । जिल्लामा प्रजिअकै अध्यक्षतामा बैठक बसी सिद्धार्थनगरको ई–रिक्सा, छाडा चौपाया र पार्किङ्को समस्या समाधानका विषयमा छलफल भएको छ, नगरपािलकाले पार्किङ् क्षेत्र तोकेर त्यसलाई व्यवस्थापन गर्ने, ई–रिक्सालाई पालिकाको मापदण्डमा ल्याउनेलगायतका विषयहरुमा समन्वय गरेर विस्तारै व्यवस्थापनतर्फ लागेको एसपी खत्रीले जानकारी दिए ।




