बुटवल । बिसे नगर्ची एकताको प्रतिक नेपालद्वारा मणिमुकुन्द सेन उद्यान संरक्षण समिति बुटवल फूलबारीमा वृक्षारोपण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालीहरूका महान् चाडपर्वहरू विजयादशमी, शुभदिपावली, एवं छठ पर्व २०८१ को अवसरमा फूलबारीको बिसे नगर्ची बाटिका सेड नम्बर ९ मा वृक्षारोपण गरिएको हो । शुभकामना आदानप्रदान एवं वृक्षारोपण कार्यक्रममा बोल्दै मणिमुकुन्द सेन उद्यान फूलबारीका अध्यक्ष माधव नेपालले बिसे नगर्चीको योगदान निकै ठुलो भएको स्मरण गरे। फूलबारीमा शाह वंशीय राजाको ऐतिहासिकता कायम रहेको भन्दै यसको संरक्षण र प्रचार प्रसार गर्नुपर्ने बताएका थिए।
संस्थाका अध्यक्ष राम कुमार रणपालले नेपाल एकीकरणमा सहयोग गर्ने बिसे नगर्चीको योगदान निकै महत्त्वपूर्ण भएकोले इतिहास जोगाउन आफूहरूले प्रयास गरिरहेको बताए।
मणिमुकुन्द सेन उद्यान फूलबारीका कार्यकारी प्रमुख अनन्तराज सिलवालले बिसे नगर्चीको घर गोरखा सम्म पुगेर अध्ययन गरेको बताए। उनले बिसे नगर्ची फूलबारी आएको तथ्य प्रमाणीकरण गर्नुपर्ने अवस्था आएको बताए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका वरिष्ठ उद्योग अधिकृत मोहन परियारले यो संस्थाको उत्थान र विकासको लागि बजेट विनियोजन गर्ने कार्यमा आफूले सक्दो सहयोग गरेको र गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उपाध्यक्ष तथा परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, सचिव नारायण बिपी परियार,सल्लाहकार सुवर्ण कुमार रणपाल, कार्यसमिति सदस्यहरू जीवन परियार, शान्ता रणपाल,प्रेस सल्लाहकार कृष्ण रणपाल लगायतले बोलेका थिए।
बुवा स्व. टेक बहादुर परियार र आमा चित्रकला परियारको सम्झनामा छोराहरू शिव र रामु परियारले संयुक्त रूपमा संस्थाको लागि १० हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
सेड नम्बर ९ मा बिसे नगर्ची बाटिका निर्माण भएको छ भने पूर्ण कदको सालिक समेत निर्माण भइरहेको छ।




