बुटवल । नेकपा एमाले रुरु क्षेत्र गाउं कमिटी गुल्मीको अधिवेशन विवादित बनेको छ । अध्यक्ष पदका एकजना उम्मेदवारको उम्मेदवारीलाई दर्ता नगरी मान्यता नदिई ‘निर्विरोध’ नेतृत्व चयन गरेपछि अधिवेशन विवादित बनेको हो ।
अधिवेशनको बन्द सत्र अन्तर्गत उम्मेदवारी दर्ता गर्ने बेलामा नेता चक्रपाणी गौतमलाई जेष्ठ कम्युनिष्ट मञ्चको प्रदेश कमिटी सदस्य रहेकाले गाउं कमिटी अध्यक्षमा दिएको उम्मेदवारी आचार संहिता विपरित भएको भन्दै फर्सु ज्ञवालीलाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो । विनोद गौतम प्रस्ताव र कल्पना गौतम समर्थनमा गौतमले उम्मेदवार मनोनयन फारम भरेका थिए । फारम भरेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्न गएका बेला मात्रै आफूलाई जेष्ठ कम्युनिष्ट मञ्चको सदस्य रहेको जानकारी गराइएको उनले गुनासो गरे । एक वर्षसम्म यो विषय जानकारी नगराई, कुनै जिम्मेवारी समेत नदिई अधिवेशनमा उम्मेदवार बनेपछि सार्वजनिक गरेर योजनावद्धरुपमा नेतृत्वमा जान रोकिएको गौतमले दावी गरे ।
‘२०८० माघ १६ गते मनोनित गरेको विषयको जानकारी एक वर्षसम्म नदिई उम्मेदवारी दर्ता गर्न थालेपछि दिइनु योजनावद्ध षड्यन्त्र हो, यसले स्वच्छ प्रतिस्पर्धा गर्न पाउने जनताको वहुदलीय जनवादको मूल मर्ममाथि प्रहार भएको छ’–गौतमले भने–‘जेष्ठ कम्युनिष्ट मञ्चको सदस्य कार्यकारी पद पनि होइन, हुंदैमा उम्मेदवार बन्न नपाइने पार्टी विधानमा छैन तर मलाई रोक्न जिल्ला नेतृत्व नै लाग्यो ।’
निर्वाचन भएको अवस्थामा आफूले चाहेको व्यक्ति हार्ने र आफूले जित्ने निश्चित देखेर आफूमाथि षड्यन्त्र गरिएको गौतमले आरोप लगाए । ‘म ३० वर्षदेखि पार्टीमा योगदान गरेको अग्रज नेता हो,पञ्चायतकालमा समेत जनपक्षीय उम्मेदवार बनेर जितेको हुं,अहिले पनि चुनाव भएको भए जित्ने देखेर नै उम्मेदवार बन्न नदिई जबजको खिल्ली उडाइयो’–गौतमले भने–‘पार्टीभित्र गुट झांगिएको छ, एउटाले अर्को गुटलाई सिध्याउने खेल भयो ।’
उम्मेदवार बन्नबाट बञ्चित गरी अन्याय भएको भन्दै गौतमले पार्टी प्रदेश कमिटीलाई निवेदन पठाउंदै न्याय दिन माग गरेका छन् । प्रदेश कमिटीका एक पदाधिकारीले पार्टीमा ३०वर्षदेखि योगदान गरेको अग्रज नेताको म्मेदवारीलाई लाई दादागिरी शैलीमा मान्यता नदिई एकलौटी गर्नुले इमान्दार नेतामाथि अन्याय भएकाले माथिल्लो कमिटीले न्याय दिने आश्वासन पाएको गौतमले बताए ।
नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछा मगरले पालिका कमिटी भन्दा माथिल्लो कमिटीमा रहेकाले विधान र आचारसंहिताले नै गौतम उम्मेदवार बन्न योग्य नभएको बताए । गौतमको उमेर ७२ वर्ष पुगेको, स्वास्थ्य पनि राम्रो नभएको भन्दै ७० वर्षमाथिका व्यक्ति कार्यकारी पदमा उम्मेदवार बन्न नमिल्ने काउछाले तर्क गरे ।
एमाले रुरु गाउं कमिटी अधिवेशनका प्रतिनिधि बिरबल पुरीले जेष्ठ कम्युनिष्ट मञ्चको प्रदेश सदस्यमा मनोनित गरेको विषय एक वर्षसम्म जानकारी नगराई अधिवेशनमा आएर जानकारी गराई गौतमको उम्मेदवारीलाई मान्यता नदिनु गलत भएको बताए । यसबारे प्रदेश कमिटीले न्यायोचित निर्णय दिने आशा रहेको पुरीले बताए ।




