गुल्मी । रेसुङ्गामा पहिलोपटक ‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञको सञ्चालन भएको छ ।
रेसुङ्गा संरक्षण समितिको आयोजनामा रेसुङ्गा क्षेत्रमा रहेको गौशालामा सञ्चालनमा भएको महोत्सव कात्तिक १६ गते गाई तिहारका दिनसम्म सञ्चालन हुनेछ ।‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञमा दैनिक पण्डित रमेश सुवेदीले प्रवचन दिने कार्यक्रम रहेको छ ।
महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञमा गाईको महत्वलगायतका विभिन्न विषयमा ज्ञानवद्र्धक जानकारीहरु प्रस्तुत गरिने रेसुङ्गा संरक्षण समितिका सह–सचिव यज्ञप्रसाद पन्थीले बताए ।हिन्दु धार्मिक परम्परा अनुसार गाईको महत्व थप टेवा पुर्याउने उदेश्यले ‘गो’ महोत्सव आयोजना गरिएको पन्थीले बताए ।
सोही अवसरमा अवसरमा आफ्ना मावली हजुरबुबा स्वर्गीय खडनन्द पाण्डे र स्वर्गीय हजुरआमा खगिसरा पाण्डे तथा स्वर्गीय पिता चिन्तामणि र स्वर्गीय माता निमकला भुुसालको स्मृतिमा उद्यमी बालकृष्ण भुसाल तथा धर्मपत्नी शान्ता भुसालद्वारा गौशालामा निर्मित श्री राधा कृष्ण भगवानको मूर्ति प्रतिस्थापन तथा मन्दिरको उद्घाटन गरिएको छ ।
महोत्सवमा संकलित हुने रकमबाट गाईहरुको दीर्घकालीन संरक्षण र सम्वद्र्धनका लागि अक्षय कोष स्थापना गर्ने प्रमुख उद्देश्यसमेत राखिएको आयोजकले जनाएको छ । २०४२ सालदेखि व्यवस्थित रुपमा रेसुङ्गा गोशाला चौतारामा स्थानीय जातका गाईहरु संरक्षण गरिदैं आएको छ ।
अहिले १५० भन्दा बढी स्थानीय जातका गाईहरु संरक्षित रहेका छन् । गाईको दूध, गहुँत, गोबर समेत हिन्दु परम्परा अनुसार पवित्र मानेर पुज्ने गरिन्छ । गाईको सेवा तथा गाईदान गर्नाले मृत्युपछि वैतरणी तरिन्छ भन्ने धार्मिक शास्त्रहरुमा उल्लेख रहेको छ ।
गाईको संरक्षणका लागि रेसुंगा संरक्षण समितिले विगत पाँच वर्ष देखि मुष्ठिदान अभियान समेत सञ्चालन गर्दै आएको छ । रेसुङ्गामा स्थानीयले पितृहरुको मनोकांक्ष पूरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचल पनि रहेको छ ।
गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गए पनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ । वनमा चर्ने गाईको गहुतबाट विभिन्न रोगहरुको निम्ति औषधि हुने मान्यता रहेको छ । प्रायः सबै ठाउँमा स्थानिय जातका गाईहरु पाल्न छोडेकाले लोप हुने अवस्था गाईलाई बचाउनको लागि पनि गौशालामा गाईहरु पालिंदै आएको छ ।




