अर्घाखाँची । नेपालका सांस्कृतिक पर्वहरुलाई मौलिक बनाउन तथा स्थानिय स्तरमा उत्पादित फुलहरुको प्रयोग बढाउन अर्घाखाँचीका दुई स्थानीय तहले प्लास्टिकका माला निषेध गरेका छन् ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाले स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निणर्य गरेको जनाएका छन् ।
स्थानीय स्तरमा उत्पादित फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्नका लागि प्लास्टिकका मालाको विक्री वितरणमा रोक लगाइएको सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए । ‘स्थानीय साथीहरुले फुल खेती गरिरहनु भएको छ,‘उनले भने,‘उहाँहरुलाई प्रोत्साहन गर्नुपर्छ, बाहिरी सामानलाई निरुत्साहित गर्नुपर्छ ।’
चाडपर्वलाई लक्षित गरेर नगरले प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ । स्थानीय किसानले उत्पादन गरेको फुलको माग बढेको हो ।
मौलिकता हराउने तथा वातावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै शिगगंगा नगरपालिकाले प्लास्टिकका माला फूललगायतका सामाग्री विक्री, वितरण र ओसारपसार तथा प्रयोगमा निषेध गरेको नगरप्रमुख छविलाल पौडेलले बताए । ‘हाम्रा स्थानीय थुंगे फुल, सयपत्री, मखमली फुलहरुको प्रयोग बढाउनु पर्छ,उनले भने,‘मौलिकता मासेर प्लास्टिकका फुलहरुको प्रयोगले हाम्रा सांस्कृतिक पर्वहरु ओझेलमा पार्न सकिंदैन ।’
दुवै नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै प्लास्टिकजन्य फूलमालाको सट्टा प्राकृतिक फूलको माला र पुष्पगुच्छा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । यसले वातावरणको संरक्षणमा सहयोग गर्नुका साथै स्थानीय कृषक र व्यापारीलाई पनि प्रोत्साहित हुने उनिहरुको निष्कर्ष छ ।




