बुटवल । विगतका वर्षहरुमा भन्दा यस वर्ष दुधको बजारिकरणको समस्या बढ्दै गएको दुध उत्पादक किसानहरुले गुनासो गरेका छन् ।
रुपन्देहीका साढे ६ सय दुग्ध उत्पादक किसान जोडिएको सालझण्डी दुग्ध सहकारीमा पनि अहिले दुधको बजारिकरणमा समस्या बढ्दै गएको छ । तर सहकारीमा आवद्ध विकासहरुलाई जोगाई राख्न सहकारी आफैले बजारमा विक्रि वितरणबाट बचेको दुधलाई प्रशोधन र उपयोग गरी दुग्धजन्य बस्तुहरु उत्पादन गरी बजारिकरण गरिरहेको छ ।
सैनामैना नगरपालिका वडा नं.१०, सालझण्डीमा रहेको सालझण्डी दुग्ध उत्पादक सहकारी संस्थाले शुद्ध दुध,दहि,घ्यु, नौनी, क्रिम, पनिर, कुराउनी, आईसक्रिम लगायतका बस्तुहरु आफैले उत्पादन गर्ने, प्याकेजिङ्ग गर्ने र विक्रि वितरण गर्दै आएको अध्यक्ष तिलकराम घिमिरेले बताए ।
सहकारीमा आवद्ध दुग्ध उत्पादक किसानहरुले जम्मा गर्ने दैनिक ४ हजार लिटर भन्दा बढि दुधको बजारिकरणको समस्या देखा पर्न थालेपछि सहकारीले दुग्धजन्य बस्तु बनाएर बजारिकरण गर्न शुरु गरेको हो । सालझण्डी दुग्ध उत्पादक सहकारी संस्थाले उत्पादन गर्ने दुध तथा उत्पादनहरु स्थानिय बजार तथा बुटवल , भैरहवा देखी पोखरा सम्मका बजारमा पुग्ने गरेको छ ।
सहकारीले आफ्ना उत्पादनलाई थोक ,फुटकर तथा घुम्ति सेवा मार्फत विक्रि वितरण गर्दै आएको अध्यक्ष घिमिरेले बताए । ६ सय ५५ किसान जोडिएको सहकारीका ६ वटा उपकेन्द्र पानवारी , वनकट्टी , बाँसगढी , जरलैया , चिसापानी र तालीबाट स्थानिय बजारमा सहुलियतमा विक्रि वितरण हुंदा उत्पादनले बजार पाउने गरको छ ।
विगतका वर्षहरुमा भन्दा यस वर्ष दुधको बजारिकरणमा थप समस्याहरु देखापर्ने गरेको अध्यक्ष घिमिरेको गुनासो छ । दुग्ध उत्पादक किसानहरुलाई सहकारीले उत्पादन बराबरको भुक्तानी दिने गरेको छ ।
बुटवल लगायतका बजारहरुमा विक्री वितरण हुने तथा ठुला व्यवासीहरुबाटै सहकारीलाई भुक्तानीको समस्या भैरहने,सरकारी संस्थाको रुपमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) जस्ता संस्थाबाट समयमा किसानले भुक्तानी नपाउँने समस्याले सालझण्डी दुग्ध उत्पादक सहकारीमै आवद्ध ११ जना ठुला किसानले पशुपालन पेशा नै छाडेर विदेश पलायन अध्यक्ष घिमिरेले जानकारी दिए ।
दुधको बजारिकरणमा चुनौति थपिएपनि रुपन्देहीमा नमूना मानिएको सालझण्डी दुग्ध सहकारीले किसानलाई प्रोत्साहन स्वरुप प्रति लिटरमा ५ रुपैया थप गरि दिँदै आएको थियो । तर पछिल्लो समय भुक्तानीकै असरले गर्दा प्रति लिटरमा २ रुपैयां मात्रै थप रकम दिँदै आएको छ । सहकारीमा आवद्ध किसानहरुले मासिकरुपमा बैंक खातामै दुध वापतको रकम जम्मा हुन्छ भने विशेष अवस्थामा सहकारीको नियम बमोजिमको थप सुविधा किसानहरुले पाउने गरेका संस्थाकै सञ्चालक सुरेन्द्र प्रसाद रेग्मीले बताए ।
विगत वर्षहरुमा प्रदेश सरकारबाट प्रोत्साहन स्वरुप प्रतिलिटर २ रुपैया अनुदान र स्थानिय सरकारबाट ९० पैसा दिने गरेको भएपनि पछिल्लो समय दोहोरो अनुदान दिइएको भन्दै प्रदेश सरकारले प्रोत्साहन स्वरुपको २ रुपैया दिन कटौती गरेको छ ।
प्रोत्साहन रकम बढाएर किसानलाई उत्प्रेरणा दिनुको साटो दिँदै आएको सुविधा समेत कटौटी गरेको भन्दै किसानहरुले उक्त रकमलाई अनुदान नभई प्रोत्साहन रकमको रुपमा दिन प्रदेश सरकार संग माग गरेका छन् । दुग्ध उत्पादक किसानहरुले दुधको बजारिकरण र भुक्तानीमा सन्तुलन ल्याएर पशुपालन र दुग्ध व्यवसायलाई जोगाई सहयोग पुराउन आग्रह गरेका छन् ।




