भैरहवा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देही ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले अब सुप्रिमका लागि रवि लामिछानेलाई बुटवल ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीलेसमेत कास्की प्रहरीलाई पत्र पठाएकाले उनलाइ दिउसो १२ बजे पोखराबाट भैरहवा ल्याइएको हो । प्रहरीले उनलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय वयानका लागि लगेको छ ।
विहानै भैरहवा ल्याउने र १० बजेबाट वयान हुने तयारी भएपनि मौसम खराबीका उडान हुन नसक्दा दिउसो पौने १ बजे उनी सरकारी वकिल कार्यालय पुगेका छन ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले अनुमति दिएसँगै रुपन्देही जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ । रुपन्देही प्रहरीले छविलालसँग भने यसअघि नै बयान लिइसकेको छ । रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ ।
प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ । २ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेका छन् । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।
त्यस्तै गोर्खा मिडियाकै उपाध्यक्ष बञ्जाडेको नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ । उनले २०७७ माघ २९ गते २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएको देखिएको छ । लामिछाने र बञ्जाडे दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा रकम जम्मा भएको अनुसन्धानले देखाएको छ ।
संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु (जीवी) राई र पूर्व उपराष्ट्रतिका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदा अनुसन्धानमै रकम लगेको देखिएपछि लामिछानेलाई प्रतिवादी नबनाएको भन्दै सहकारी पीडितले प्रश्न उठाउँदै आएका थिए ।
प्रहरीले २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही अदालतमा मुद्दा दर्ता गर्दा लामिछाने गृहमन्त्री थिए । तर, अहिले प्रहरीले लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले अहिले तयार गरिरहेको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाममा प्रवाह गरिएको ऋणको भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका छन् । गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय सागर केसी अहिले फरार छन् । केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोरखा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ । रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भएकी छन् ।
सहकारी ऐन–२०७४ को दफा १२२ अनुसार ‘झुट्टा वा गलत विवरण पेस गरी कर्जा लिएमा’ र कृत्रिम व्यवसाय खडा गरी वा गराई ऋण लिएमा वा दिएमा’ कानुनी कारबाही हुने व्यवस्था छ । रुपन्देही ल्याउने प्रहरीको तयारी भएपछि रास्वपा र सहकारी पीडित दुवै पक्षले विरोध प्रदर्शनको तयारी गरेका छन् । सुप्रिम सहकारी पीडितले उनलाई बयान लिने सरकारी वकिलको कार्यालय तथा जिल्ला अदालत परिसरमा विरोध प्रदर्शनका लागि पीडित सदस्यहरूलाई सूचित गरेर बोलाएको छ भने रास्वपाले सबै कार्यकर्तालाई बिहानै लुम्बिनी गेटमा उपस्थितिका लागि निर्देशन गरेको छ ।
कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका उनलाई चौथो पटक म्याद थप गरिसकेको छ । कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएको उनलाई हिरासतमै राखी अनुसन्धान भइरहेको छ । लामिछानेलाई पक्राउको विरोधमा रास्वपाले भने देशभरि विरोध प्रदर्शन गरिरहेको छ ।आइतबार मात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासतमै राख्न म्याद थपको अनुमति दिएको छ । यो चौँथोपटक म्याद थप गरिएको हो ।




