बुटवल । न्यु होराईजन मावि बुटवलको आयोजनामा ३१ औंं संस्करणको प्रदेशस्तरिय हाजिरीजवाफ प्रतियोगिता यहि मंसिर १४ गतेदेखि शुरु हुने भएको छ । २०५० सालमा जिल्लास्तरीयबाट शुरु भएको प्रतियोगिता निरन्तररुपमा अञ्चल स्तरीय हुंदै गत वर्षदेखि प्रदेशस्तरीय हुन थालेको हो । प्रथम चरणको छनोट प्रतियोगिता मंसिर १४ गते दाङको लमही, पाल्पाको तानसेन र बुटवलमा एकै दिन हुने छन् । लमही केन्द्रमा दाङ्, रोल्पा, बाँके र बर्दियाका विद्यालय सहभागी हुने छन् ।
यस्तै पाल्पा केन्द्रमा पाल्पा, गुल्मी र अर्घाखाँचीका विद्यालय सहभागी हुने छन् भने बुटवल केन्द्रमा रूपन्देही, नवलपरासी र कपिलवस्तुका सय बढी विद्यालयको सहभागिता हुने विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले बताए । प्रत्येक केन्द्रमा हिट राउण्डबाट ६ वटा विद्यालय सेमी फाइलनमा प्रवेश गर्ने छन् । सेमी फाइलनलमा प्रत्येक केन्द्रमा प्रथम पुरस्कार ९ हजार, द्वितीय पुरस्कार ६ हजार, ृतीय पुरस्कार ४ हजार पांच सय र सिल्ड, ट्रफी र प्रमाण पत्र प्रदान गरिने प्राचार्य उपाध्यायले जानकारी दिए ।
फाइनल राउन्डको मिति पछि जानकारी गराइने छ । न्यू होराइजन मा.वि. बुटवल देवीनगरमा हुने फाइनलमा प्रत्येक केन्द्रबाट सेमी फाइनलमा प्रथम र द्वितीय गरी ६ विद्यालयले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले प्रथम पुरस्कार ४० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले २० हजार नगद तथा सिल्ड, ट्रफी र प्रमाण पत्र पाउने विद्यालयका प्राचार्य उपाध्यायले जानकारी दिए ।
यस्तै विभिन्न केन्द्रमा सम्पन्न कार्यक्रमबाट फाइनल चरणमा सहभागी विद्यार्थीलाई पनि आयोजक विद्यालयले यातायात खर्च उपलब्ध गराउने छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूले निजी लगानीमा स्थापित न्यू होराइजन माविले गुणस्तरीइ शिक्षासंगै खेलकुद, अतिरिक्त क्रियाकलाप,लोकदोहारी प्रतियोगिता आयोजना गरेर लोकसंस्कृतिको जगेर्नाका लागि समेत योगदान गरेको बताए । उनले बुटवलका विद्यार्थीहरुलाई विभिन्न खेल प्रतियोगिताका लागि सरकारी स्तरको सुविधासम्पन्न खेल मैदानको अभाव रहेकाले स्थानीय सरकारको ध्यान त्यसतर्फ जानुपर्ने सुझाव दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापहरुले विद्यार्थीमा अन्तरनिहीत विभिन्न प्रतिभा प्रष्फुटन हुने र नेतृत्व क्षमता समेत विकास हुने बताए ।
कार्यक्रममा विद्यालयका कोषाध्यक्ष रामेश्वर श्रेष्ठ, उपप्राचार्यहरु बालकृष्ण भण्डारी, बासुदेव अर्याल, राजीव श्रेष्ठ, प्लस टु तर्फका विषयगत संयोजकहरु प्रकाश खनाल, प्रकाश पन्त, मनोज सिलवाल हाजिरीजवाफ संयोजक मुक्ति पौडेल,अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्याल लगायतले आआफ्ना धारणा राखेका थिए ।
२०४६ सालमा स्थापित न्यू होराइजन माध्यमिक विद्यालयले आगामी माघ १६, १७ र १८ गते ३५ औँ वार्षिकोत्सव मनाउन लागेको छ । जसअन्तर्गत प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता, लोक दोहोरी गीत प्रतियोगिता, राष्ट्रीय स्तरको टेबलटेनिस प्रतियोगिता तथा बाल साहित्य महोत्सवजस्ता रचनात्मक कार्यक्रमहरु सञ्चालन हुने विद्यालयले जनाएको छ ।




