भोजेन्द्र नेपाली
बुटवल
गुल्मी जिल्लाको एक समूहले देउसी भैलोबाट संकलित रकमबाट विद्यार्थीहरूलाई न्यानो कपडा (स्विटर) वितरण गरेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नं. ६ को भलापाट टोल सुधार समिति (देउसी भैलो समूह)ले देउसी भैलोबाट संकलन रकमबाट विद्यार्थीहरूलाई न्यानो कपडा(स्विटर) तथा शैक्षिक सामग्री वितरण गरेको हो ।
सोमबार भलापाट टोल सुधार समिति (देउसी भैलो समूह) को आयोजनामा देवीस्थान आधारभूत विद्यालयका नर्सरीदेखि कक्षा ५ सम्मका ६० जना विद्यार्थीहरूलाई न्यानो कपडा (स्विटर)वितरण तथा जेहन्दार एवं विपन्न ९ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री समेत प्रदान गरिएको छ । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा हालका कार्यसमिति सदस्य मानबहादुर बोहोराले गरेका थिए । उनले “सहयोगी भावना र सामाजिक उत्तरदायित्वले मात्र समृद्ध समाजको निर्माण सम्भव रहेकाले भलापाट टोल सुधार समितिलाई धन्यवाद दिएका थिए ।
कार्यक्रम वडा अध्यक्ष ढालबहादुर कँुवरको प्रमुख आतिथ्यतामा सम्पन्न भयको थियो ।कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष कुवँरले “समाजमा सकारात्मक परिवर्तन ल्याउने यस्ता प्रयासलाई वडा कार्यालयको तर्फबाट पूर्ण समर्थन र सहयोग रहिरहेको र वडाको तर्फबाट गुणस्तरीय शिक्षा प्रदानको लागि विभिन्न योजनाहरु अगाडि बढाइदै आएको बताउँदै भलापाट टोल सुधार समिति र सम्पूर्ण सहयोगीहरूलाई यस कार्यमा समर्पणका लागि धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमको विशिष्ट अतिथि रहेका इस्मा–६ का पूर्व वडा अध्यक्ष तथा विव्यसका पूर्व अध्यक्ष हिराबहादुर जिसीले देउसी भैलोबाट संकलित रकमको सदुपयोग गर्दै विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्ने कार्य अत्यन्तै सराहनीय काम रहेको भन्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको शैक्षिक विकासमा मात्र नभई सामाजिक एकता र सहकार्यको भावना बढाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै भलापाट टोल सुधार समितिलाई यो प्रेरणादायी कार्यका लागि धन्यवाद तथा आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरे ।
त्यस्तै विशिष्ट अतिथिकै रुपमा रहेका विद्यालयका प्रधानाध्यापक लोकनाथ पाण्डेले यो कार्यक्रमले विद्यार्थीहरूमा शैक्षिक तथा सामाजिक प्रेरणा जगाउनुका साथै सहयोगी भावना विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको बताउँदै देउसी भैलो समूह र सबै सहयोगदाताहरूलाई यस सफल प्रयासका लागि विद्यालयको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।
त्यस्तै देउसी भैलो समूहका संयोजक तथा कार्यक्रममा अतिथि भोजेन्द्र नेपालीले कार्यक्रमबारे स्पष्ट पार्दै भने–‘जसले हाम्रो देउसी–भैलो कार्यक्रममा साथ र सहयोग गर्नु भयो उहाँहरुको समर्थन बिना यो सम्भव नरहेको र देउसी भैलो खेलेर खानपान र मनोरञ्जनमा पराम्परागत रुपमा हुने खर्चलाई कटौती गर्दा यो चिसो मौसममा विद्यार्थीहरुलाई केही राहत हुने हुँदा सानो प्रयास गरिएको हो ।’ उनले विद्यालय र कार्यक्रममा उपस्थिति सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए । अन्य अतिथिहरूमा टोपबहादुर महत, ताराबहादुर महत, चन्द्रबहादुर महत, बलबहादुर महत, खगेन्द्र नेपाली, रामबहादुर नेपाली, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकज्यूहरूको उत्साहजनक उपस्थिति रहेको थियो । सोही कार्यक्रममा स्थानीय समाजसेवी बलबहादुर महतले स्वर्गीय श्रीमती नमकुमारी महतको सम्झनामा विद्यालयलाई रु दश हजार पाँच आर्थिक सहयोग गरेका थिए ।




