भैरहवा । रुपन्देहीको रोहिणीमा ३० करोड लगानीमाअर्गानिक मल उद्योग सञ्चालनमा आएको छ । ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिले अर्गानिक मलको व्यवसायिक उत्पादन थालेको हो । नेपालमा बर्षेनि मलको अभाव हुने र रासायनिक मलको प्रयोगबाट माटोको उर्बराशक्तिमा आउने ह्रास तथा रासायनिक मलको प्रयोगबाट उत्पादित खाद्यान्नले मानव स्वास्थ्यमा पार्ने असरलाई मध्यनजर गर्दै ठूलो परिमाणमा अर्गानिक मलको व्यवसायिक उत्पादन थालिएको हो ।
कोरोना महामारीका बेला मल अभाव र अन्य वस्तु आयातमा देखिएको समस्याले मल उद्योग खोल्न प्रेरणा मिलेको उद्योगका सञ्चालक भैरहवाका व्यवसायी सिद्धार्थ अग्रवालले बताए । उद्योगमा उनकी पत्नी पुनमकुमारी अग्रवाल पनि साझेदार छन् । उनीहरुले रोहिणी गाउँपालिका-४, कोटहवामा अर्गानिक मल उद्योग संचालनमा ल्याएका हुन् ।
५ विघा क्षेत्रफलमा ३० करोड रुपैयाँ लगानी गरी ‘रत्नम अर्गानिक दानेदार मल’ बजारमा ल्याइएको हो । मलका लागि बर्षेनि अर्बौं रुपैयाँ बिदेशिने गरेको तथ्यलाई मध्यनजर गर्दै अर्गानिक मलको व्यवसायिक उत्पादन सुरु गरेकोअग्रवालले बताए ।
लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका किसानलाई लक्षित गरी दैनिक एक सय मेट्रिक टन भन्दा बढी मलको उत्पादन गर्दै आएको सञ्चालन सिद्धार्थ अग्रवालले बताए । उद्योगको क्षमता भने दैनिक २ सय मेट्रिक टन छ । अहिले एक सय बढी स्थानमा डिपो खोलेर मल विक्री गरिरहेको अग्रवालले बताए ।‘रासायनिक मललाई बिस्तारै बिस्थापित गर्दै जाने हाम्रो लक्ष्यहो’-अग्रवालले भने-‘हाम्रो उत्पादनलाई स्थानीय किसानले मात्र होइन सीमावर्ती भारतीय किसानले पनि रुचाएका छन्, त्यहांबाट समेत ठूलो माग आउन थालेको छ ।’ उद्योगले आफ्नै र सरकारी प्रयोगशालामा परीक्षण गरेर मल बजारमा पठाउन गरेको उनले जनाए ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा सूचिकृत गरी गुणस्तरीय मलउत्पादन गरिरहेको उद्योगका प्रबन्ध निर्देशक पुनमकुमारी अग्रवालले बताइन् । रासायनिक मलको प्रयोगले बिग्रिएको माटोको गुणस्तरलाई सुधार्न र उत्पादन बढाउन अर्गानिक मल फलदायी हुने उनले दावी गरिन् । अर्गानिक मलको प्रयोगबाट उब्जनी हुने कृषि उपजले मानव स्वास्थ्यलाई समेत फाइदा गर्ने उनको भनाई छ ।
कौँशी तथा करेसावारीमा लगाइने तरकारी खेतीदेखि धान, गहुँ, मकैसहित अन्य खाद्य बाली र नगदेवालीलाई लक्षित गर्दै मल ५ केजी, २५ केजी र ५० केजी तौल प्याकेजिङमा मल बजारमा ल्याइएको छ । एक वर्ष अघि उत्पादन थालेको उक्त उद्योगले आफ्नो उत्पादित मल उद्योग परिसर, आसपासका पालिकाहरु रस्थानीय कृषकको खेतमा गरिएको परीक्षण सफल भएको प्रालिका प्रबन्ध निर्देशक अग्रवालले बताइन् ।
नाइट्रोजन, फस्फोरस, पोटासियम, क्याल्सियम, सल्फर, म्याग्नेसियम, फलाम, कार्बनिक पदार्थ, नमी र कार्बन नाइट्रोजनको मिश्रण रहेको अर्गानिक मल रासायनिक मलको तुलनामा मूल्य पनि सस्तो र गुणस्तरीय रहेको प्रबन्ध निर्देशक अग्रवालले बताइन् ।
उनका अनुसार ५० किलो रासायनिक डीएपी मलको मूल्य करिब २ हजार ४ सय रुपैयाँ पर्ने गरेकोमा रत्नम अर्गानिक मलको मूल्य १ हजार ५ सय रुपैयाँ छ ।
सरकारले स्वदेशी अर्गानिक मलको प्रबद्र्धनका लागि विशेष नीति ल्याएमा सधैंभरी मलको अभावले किसानलाई भौतारिनु नपर्ने र माटोको उर्बराशक्ति संरक्षण हुने उनले बताइन् । बजारमा अर्गानिक मलका नाममा पूरामात्रामा पोषकतत्व नभएका मल विक्री भइरहेको जनाउँदै संचालकले यसलाई रोक्न समेत तीनै तहका सरकारसँग अनुरोध गरेका छन् । उद्योगमा ४० जनालो रोजगारी पाएका र पूणर् क्षमतामा चल्दा १५० जनाले रोजगारी पाउने संचालकले बताएका छन् ।




