बुटवल ।नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार उक्त फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।
यो चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको फ्रेमवर्क हो । यसको विस्तृत विवरण भने आइसकेको छैन । सत्ता गठबन्धनमा रहेका एमाले र कांग्रेसले सहमतिमा बीआरआई कोअपरेशन फ्रेमवर्कमा सहमति गरेका थिए । उक्त फ्रेमवर्कमा अनुदानबाट परियोजना सञ्चालन गर्ने भनिएको थियो ।
बीआरआई अनुदानबाट मात्रै सञ्चालन नहुने भएकोले चीनले उक्त बुँदामा संशोधन चाहेको थियो । स्रोतहरूका अनुसार बीआरआई परियोजना सञ्चालन चिनियाँ सहायतामा हुने व्याख्यापछि सहमति जुटेको हो । उक्त सहमतिपछि हस्ताक्षर भएको हो ।
फ्रेमवर्कमा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स निर्माण र कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा अमरगढी सिटी हल निर्माण परियोजना पनि परेका छन् । फ्रेमवर्कमा टोखा-छहरे सुरुङमार्ग, हिल्सा-सिमकोट सडक परियोजना, किमाथांका-खाँदबारी सडक र पुल र जिलोङ-केरुङ-काठमाडौं सीमापार रेलमार्ग परेका छन् ।
यसैगरी, डडेलधुरास्थित अमरगढी सिटी हल, जिलोङ-केरुङ-रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन-नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स निर्माण पनि फ्रेमवर्कमा परेका छन् ।




