बुटवल । मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहित चर्चित हास्य कलाकारको समूहले काठमाडौंपछि बुटवलमा मह जात्रा नामक प्रहसन गर्दैछन् ।
नेप्लिज होटेलियर्स एशोसिएसन (एनएचए) लुम्बिनीको आयोजनामा यही मंसिर २९ गते बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा मह जात्रा हुन लागेको हो ।
मह जात्रा झन्डै १० वर्षको अन्तरालपछि आयोजना भएकाले कला पारखी दर्शकहरुका लागि विशेष आकर्षण हुने अपेक्षा गरिएको छ । मह जात्रा प्रहसनमा मदनकृष्ण र हरिवंशसहित किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतलगायत हास्य कलाकारको पनि प्रस्तुति रहने छ । मदनकृष्ण पार्किन्सन्स रोगले पीडित भएका आगामी दिनमा हरिवंशको साथमा मह जात्राले निरन्तरता पाउने वा नपाउने प्रश्न रहेकाले पनि यसपटक दुबै चर्चित कलाकारलाई एकसाथ हेर्न रुपन्देहीवासी मात्र नभई लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट दर्शक आउने अपेक्षा गरिएको एशोसिएसनका अध्यक्ष प्रवीणबहादुर पाठकले बताए । ‘१० वर्षको अन्तरालपछि मञ्चमा एकसाथ आएका मह जोडीको प्रहसन काठमाडौंपछि बुटवलमा आयोजना गर्नुको मुख्य उद्देश्य बुटवल हरेक हिसाबले अगाडि छ भन्ने सन्देश दिनु हो भने अर्कोतर्फ यहांको पर्यटन प्रवद्र्धन पनि हो’– अध्यक्ष पाठकले भने –‘ प्रहसनमा मनोरञ्जनसँगै सामाजिक सन्देशको समिश्रण पनि हुने भएकाले दर्शकलाई हँसाउँदै समाजप्रति नयाँ दृष्टिकोण राख्न पनि प्रेरित गर्ने छ ।’
मह जोडीले यसअघि प्रस्तुत गरेका लोकप्रिय प्रहसनहरू यमलोक, प्यारालाइसिस, अंशबन्डा, विज्ञापन, श्राद्ध,नेपाल बन्द, रिमोट कन्ट्रोल, वडा नं ३४, दुई सय पाँच, नाता र शपथग्रहण लगायत प्रहसनहरु नेपाली हास्य क्षेत्रमा स्मरणीय रहेका छन् । दिउसो ३ बजेदेखि शुरु हुने मह जात्रा हेर्न ग्राउण्ड फ्लोरका लागि १५ सय र पहिलो तलाका लागि एक हजार रुपैयां टिकट दर कायम गरिएको एशोसिएसनका कार्यकारिणी सदस्य टेकनाथ बस्यालले जानकारी दिए ।
मह जात्रा सम्पन्न गर्न करिब २० लाख रुपैयां खर्च हुने आयोजकले बताएका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा करिब ८ सय जना का लागि सिट क्षमता भएकाले टिकट विक्रिबाट खर्च धान्ने आम्दानी नहुने भएकाले एशोसिएसनले स्थानीय सरकार, व्यवसायिक संघसंस्था र उद्योगी व्यवसायीसंग सहयोगको अपील समेत गरेको छ ।




