बुटवल । रुपन्देहीको नयांगाउंमा ६ वर्षदेखि रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को लुम्बिनी प्रदेश कार्यालयलाई दाङ सार्न खोजेपछि कर्मचारी विरोधमा उत्रेका छन् । बाँकेको कोहलपुरमा आफ्नै भवन रहेको र बुटवलमा मुख्य कार्यालय रहेको यस कार्यालयलाई अहिले बसिरहेको क्षेत्रमा व्यवस्थापनका लागि निःशुल्क जग्गा तथा कार्यालयसमेत उपलब्धताको सुनिश्चितता भएपनि कार्यालयका निमित्त प्रमुख यादव सुवेदीले आफ्नो घरपाई मिलाउन अनावश्यक खर्च बढाउने गरी दाङ सार्न खोजेका हुन् ।
सुवेदीको स्वार्थमा राज्यलाई वर्षेनी लाखौं आर्थिक भार थप्नेगरी दाङ लैजान थालिएको भन्दै कर्मचारीहरुले नै विरोध गरेका छन् । यसअघि दाङमा सम्पर्क कार्यालयसमेत राखिएको छ । सिटिईभिसी अन्तर्गतका अधिकांश नर्सिङ कलेज, इन्जिनिरिङ कलेज सबै रुपन्देही आसपासमा रहेका छन् । कर्मचारीहरुका अनुसार अहिले यो कार्यालयअन्तर्गत ७० वटा प्राइभेट कलेजमध्ये अधिकांश रुपन्देही क्षेत्रका र धेरै विद्यार्थी पनि यही क्षेत्रका छन् केही संख्या बाहिर भए पनि ती संख्याका हिसाबले मात्रै रहेका छन् ।
कर्मचारीहरुले बुटवलबाट कार्यालय सार्ने भए आफ्नै भवन रहेको कोहलपुर नै लैजानुपर्ने र नभए यहाँ भाडा नै तिर्नुनपर्ने गरी कार्यालय व्यवस्थापन गरेर राख्नुपर्ने सुझाव दिए पनि सुवेदीले सत्तारुढ दलका नेताहरुको दवावमा यसलाई सार्न चलखेल गरिरहेका छन् ।
केही समयअघि यो कार्यालय व्यवस्थापनका लागि तत्कालीन कार्यालयका निर्देशक महेश भट्टराईसहितको टोलीले बुटवलको कार्यालयलाई व्यवस्थित रुपमा राख्नका लागि रंगशालाको भवनमा दीर्घकालीन रुपमा र बुटवलको तामनगरमा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालय (केएनटिआई)को भवनमा तत्कालीन रुपमा कार्यालय राख्नेगरी विकल्प खोजी भएको थियो । अहिले पनि केएनटिआईमा यसको कार्यालय रहेको छ ।
नेपाली कांग्रेस निकट मानिने सुवेदीले एमालेका महासचिव शंकर पोखरेलको नाम दुरुपयोग गर्दै आफ्नो स्वार्थ पूरा गर्न खोजेको कर्मचारीकै आरोप छ । संघीय सरकार अन्तर्गत रहेको यो कार्यालय सार्नका लागि केन्द्रले केही भनेको छैन उल्टै खर्च कम गर्नका लागि केएनटीआईमा रहेको भवनमा सार्न भनिरहेको छ तर सुवेदीले त्यहाँ कार्यालय लैजान तयार छैनन् । अहिले यहाँ रहेको भवनको भाडा ५० हजार मासिक छ भने दाङमा लैजाँदा एक लाख थपिने भएको छ । यस्ता विषयमा खर्च थप्न नहुने कर्मचारीको अडानलाई उनले अस्वीकार गर्दै दाङमा भाडामै लैजाने प्रयास गरेका छन् ।
‘केएनटिआईमा भाडा तिनै नपर्ने गरी कार्यालय सार्न पनि सुवेदी सहजै तयार हुनुभएन, यहाँ यसको भवन बनाउन पनि निःशुल्क जग्गा पाइनेगरी बुटवल उपमहानगर दिन तयार छ’-एक कर्मचारीले भने-‘अरु संघसंस्थाहरु पनि सहयोगका लागि तयार छन् तर उहाँ मानिरहनुभएको छैन ।’
प्राविधिक शिक्षालय फोरम लुम्बिनीका पूर्वअध्यक्ष गोविन्द खनालले सिटिईभिटीको सम्बन्धन पाएका अधिकांश कलेज रुपन्देहीमा रहेका र विद्यार्थी पनि धेरै यतैका भएकाले त्यसको नियामक निकायले यो क्षेत्र छाड्न खोज्नु उचित नभएको बताउँछन् । ‘अस्पताल र प्रयोगात्मक अभ्यास सेन्टर अधिकांश रुपन्देहीमै भएकाले राजनीतिक स्वार्थमा यहाँबाट सार्ने चलखेल गलत छ, विद्यार्थी र शिक्षकको पायक रुपन्देही नै हो’-खनालले भने ।
नेपाल निजी प्राविधिक शिक्षालयका पूर्वकेन्द्रीय अध्यक्ष बसन्तराज खनालले सिटिइभिटीको कार्यालय अन्तर्गतका अधिकांश कलेजहरु रुपन्देही क्षेत्रमा भएकाले यहाँबाट कार्यालय सार्नु कुनै पनि हिसाबले उचित नहुने बताउँछन् । संघीय सरकार अन्तर्गतको कार्यालय प्रदेश राजधानी भएकै ठाउँमै लैजानुपर्ने भन्ने छैन यो कुनै कर्मचारीविशेषको स्वार्थबाहेक केही होइन भन्दै खनालले आफ्नै भवन भएको कोहलपुर नलगी दाङ नै लैजान खोज्नु राज्यको व्ययभार बढाउने काम मात्रै भएकाले यस्तो काम रोकिनुपर्ने बताए । २२ जना कर्मचारीमध्ये अधिकांश रुपन्देही आसपासका भएकाले पनि कार्यालय सार्ने चलखेलको विरोधमा उत्रिएका छन् ।




