भैरहवा । रुपन्देहीको रोहिणीमा १५ शैय्याको अस्पताल बन्ने भएको छ । सरकारले प्रत्येक स्थानीय तहमा कम्तिमा १५ शैय्याको अस्पताल बनाउने निति अनुसार रोहिणी गाउँपलिकाले वडा नम्बर ३ लक्ष्मीनगरमा अस्पताल बनाउन लागेको हो । पालिकाका प्रमुख विद्या प्रसाद यादवले निर्माण हुने भवनको शिलान्यास गरेका हुन् । सो अवसरमा बोल्दै उनले लामो समय देखि सरकारको यो विविध कारणले कार्यक्रम हुन नसकेपनि पालिकाको प्रयासमा जग्गा प्राप्ती र बजेट विनियोजनले गाँउपालिका कार्यालय नजिकै अस्पताल निर्माण सुरु भएको छ, यो रोहिणीको लागि अतिआवश्यक र महत्वपूणर् काम रहेको बताए ।
ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य सेवा दिनका लागि सरकारले यो अवधारणालाई ल्याएको थियो । जग्गा प्राप्तीका केही कठिनाई भएपनि जग्गादाताको सहयोगकै कारण यस्को सुरुवात भएको छ । अस्पतालका लागि स्व. राजेन्द्र प्रसाद यादवका परिवार, राधेश्याम चौधरी लगायतले बाटोका लागि जग्गादान गरेर नै सुविधा सम्पन्न अस्पताल निर्माणको थालनी भएको छ । जग्गादाताको सहयोगकै कारण यस्को सुरुवात भएको अध्यक्ष यादवले भने अस्पतालले रोहिणीको सबैलाई पायक पर्ने हिसाबले र छिमेकी पालिकाका नागरिकहरुको सहजता हुने गरि हुलाकी राजमार्गसँगै अस्पताल निर्माणको थालनी गरेको छ ।
हरेक पालिकामा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार १ विघा ११ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको अस्पताल साँढे तीन तले १५ सैय्याको हुनेछ । निर्माणको काम थालनि गर्न भवनको शिलान्यास गरिएको छ । करिब ११ करोड २३ लाख ४२ हजार एक सय ६८ रुपैयाँ ४७ पैसा भ्याटसहितको लागतमा निर्माण हुन लागेको हो । नगर अस्पताल भवन फरक क्षमता-मैत्री हुने छ अध्यक्ष यादवले जानकारी दिए ।
१५ शैयाको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन मन्त्रालयले सहमति दिने निणर्य गरिसकेको र अस्पतालको भवन निर्माणका लागी सरकारले सम्वन्धित स्थानिय पालिकालाई आंशिक बजेट समेत पठाईसकेको ले तत्काल भवनको काम अघि बढाइएको गाउँपालिका योजना शाखाले जानकारी दिएको छ ।
पालिकास्तरीय अस्पताल भवन निर्माणको जिम्मा अकृति एभरेष्ट गंगोत्री देवी जेभी बुटवलले पाएको छ । २३ कार्तिक २०८० मा सम्झौता भएको भवन निर्माण २०८३ कार्तिक २२ गते निर्माण सम्पन्न गर्नुपर्नेछ ।
प्रमुख प्रशासकिय अधिकृत राकेश कुमार चौधरीले पालिका स्तरीय अस्पतालको शिलान्यास हुनु यस क्षेत्रकैलागि उल्लेखनीय कार्य रहेको बताए । पालिकाले स्वास्थ्यलाई प्राथमिकता दिदै आएपनि जग्गा प्राप्तीमा केही समस्या रहेकोले त्यो समाधानभई निर्माणको थालनी भएको उनले भने । हाल ५ वटा स्वासथ्य चौकी र एक वटा पिएचसी गरी ६ वटा स्वास्थ्य सेवाका युनिट रहेको छ । अस्पताल भएपछि अधिकतम स्वास्थ्य सेवा पालिकावासीले यही बाट लिन पाउने व्यवस्था हुनेछ ।
पालिकाले निर्माण गर्न लागेको अस्पतालमा मापदण्ड अनुसार नै आकस्मिक सेवा, वर्थिङ सेन्टर, बहिरंग सेवा, अन्तरंग सेवा, प्रयोगशाला, रेडियोलोजी, सामान्य शल्यक्रिया तथा उपचार सेवा, विशेषज्ञ सेवा, फार्मेसी सेवा, रक्त सञ्चार, अस्पताल व्यवस्थापन तथा वातावरण र निष्कासित फोहोरमैला व्यवस्थापन लगायतको व्यवस्था रहनेछ ।




