बुटवल। रुपन्देहीमा चौथो युवा उद्यमी शिखर सम्मेलन हुने भएको छ । युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा पुसको ६ गते रुपन्देहीको कोटिहवा टाइगर प्यालेसमा युवा उद्यमी सम्मेलन हुन लागेको हो । युवाहरुलाई उद्यमी र स्वरोजगार कसरी बनाउन सकिन्छ र स्वदेशमै रोजगारीको सम्भावना कसरी खोज्न सकिन्छ भन्ने विषयमा सम्मेलन हुनु लगेको हो ।
उद्योगी, ब्यवसायी, वित्तीयविज्ञलगायतका युवा नेताहरुको सहभागितामा हुने सम्मेलनमा युवाको भविष्य र सम्भावनाको खोजी विषयमा प्यानल छलफल, चर्चा र सफल उद्यमी र ब्यवसायीहरुका अनुभव आदान प्रदान हुने सम्मेलन सम्पादन समितिका संयोजक प्रविना घिमिरेले जानकारी दिइन ।
सम्मेलनको मुख्यवक्ताका रुपमा वल्र्ड लिंक कम्युनिकेशन प्रालिका अध्यक्ष दिलीप अग्रवाल रहनु हुने छ भने उहाँले युवाहरुको भविष्य, सम्भावना र रोजगारीका विषयमा आफ्ना अनुभवहरु शेयरिङ्ग गर्नु हुने कार्यक्रम रहेको छ । विभिन्न क्षेत्रका सफल अनि अनुभवि हस्तिहरुको सहभागितामा हुने कार्यक्रममा विभिन्न चार वटा सेसन हुने संयोजक घिमिरेले जानकारी दिइन ।
कार्यक्रममा अनुभव आदान प्रदान, युवा भविष्य र रोजगार विषयक प्यानल डिस्कशन, उद्यमशिलता यात्रा अनुभव आदान प्रदानलगायतका सेसन हुने छ ।
विभिन्न सेसनमा माउण्ट एभरेष्ट काथा मिल्सका अध्यक्ष बसन्त रोक्का, सिद्धार्थ गु्रप अफ हस्पिटलाटीका अध्यक्ष चिन्तामणी न्यौपाने (लक्ष्मण), सिद्धि विनायक मोटो ग्रुपका म्यानेजिङ डाइरेक्टर सुनिल कसजु, नेपाल टुरिजम बोर्डका सिनियर म्यानेजर श्रद्धा श्रेष्ठ, कोको कोला बोट्टल्स नेपालका पक्लिक रिलेशन एक्सपर्ट स्नेह राजभण्डारी, कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य, सिंगापुर बेभरेज नेपालका म्यानेजिङ्ख डाइरेक्टर डाक्टर आशिस शर्मा, पहाडि फुड्सका.म्यानेजिङ डाइरेक्टर प्रशान्त घिमिरे, मेरो किनमेलका संचालक सन्तोष कण्डेललगायतले युवा सम्मेलनमा आआफ्ना अनुभव र युवा उद्यमी बन्ने उपायका बारेमा आआफ्ना विचारहरु राख्ने छन् ।
युवा उद्यमीकै विषयमा दिनभर चल्ने छलफल कार्यक्रममा इकोनोमिष्ट निशान्त खनाल र मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठले कार्यक्रमको सहजिकरण गर्ने छन् ।
नेपालमा युवाहरुका सम्भावना, सुचना प्रविधि र उद्यमशिलता, अवसर र चुनौतीलगायतका विषयमा कार्यक्रम केन्द्रीत रहने युवा उद्यमी मञ्चका चेप्टर प्रेसिडेन्ट रिशभ वझाले जानकारी दिए ।




