बुटवल । बुटवल–नारायणगढ सडक विस्तारका क्रममा अवरुद्ध बनेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडिको पुर्व पश्चिम राजमार्गबाट धर्मपथ जोड्ने सडक युवा व्यवसायी गोबिन्दराज गैरेको अगुवाईमा सुचारु भएको छ ।
सडक निर्माणको ठेक्का पाएको व्यवसायीले समयमा काम नगर्दा करिब ६ महिनासम्म धर्मपथ हुंदै भुड्कीचोक जोड्ने उक्त खण्डको सडकमा आवतजावतमा समस्या भएको थियो ।
सडक विस्तारका क्रममा बनेको नालीमा ढक्कन (स्लाब) नराख्दा ६ महिना भन्दा लामो समयसम्म आवतजावतमा समस्या हुनुका साथै फोहोरले दुर्गन्ध फैलिएको र दुर्घटनाको समेत जोखिम भएको परिस्थितिमा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सदस्य एवं उद्योग ब्यापार संघ बुटवलका निवर्तमान अध्यक्ष गैरेले बुटवल ८ का वडा अध्यक्ष यज्ञ पंगेनी लगायतको साथ लिएर सडकको ठेकेदारलाई दबाब दिई नालीमा ढक्कन (स्लाब) राखेपछि सडकमा आवतजावत सहज भएको स्थानीय होटेल व्यवसायी पर्शुराम पौडेलले बताए ।
‘लामो समयसम्म सडक अवरुद्ध हुंदा र नालीमा स्लाब( ढक्कन) नराख्दा फोहोरको दुर्गन्ध र धुलोले बस्न सक्ने स्थिति थिएन, व्यवसाय चौपट भएको थियो, दुर्घटनाको पनि जोखिम थियो’–पौडेलले भने–‘नगर प्रमुख,उपप्रमुखलाई पटक पटक अनुरोध गरेपनि सुनुवाई भएन, त्यसपछि गोबिन्दराज गैरेको पहलमा ठेकेदारलाई बारम्बार फोन गरेर दवाव दिएपछि आवतजावत गर्न सहज भएको छ ।’
गैरेले आफूले स्थानीय बासिन्दा र व्यवसायीलाई समस्या परेको देखेर सडक निर्माणमा ठेकेदारलाई दवाव सिर्जना गरेको बताए । उनले नागरिक समाज र स्थानीय जागरुक नहुने हो भने विकास निर्माणका काममा ढिलाई,लापरवाही र गुणस्तरहीन काम हुने भएकाले नागरिकले खबरदारी गर्नुपर्ने र त्यसको अगुवाई आफूले गरेको बताए ।




