डिबि खड्का-गुल्मी । तत्कालीन मर्भुङ्ग गाविस सहित हालको मालिका गाउँपालिका क्षेत्रको लागि गजिन्द्र पौडेल नौलो नाम होइन । २९ वर्ष भारतीय सेनामा जागीर गरेका पौडेलको स्वभाव सैनिक जस्तो देखिदैन ।
साधारण जिवनशैलीका गजीन्द्रले २०५४ सालमा अवकाश लिएका थिए । त्यस बेला सदरमुकाम तम्घास ,बुटवल लगायत क्षेत्रमा घर घडेरी किन्ने प्रचलन व्यापक रहे पनि पौडेलले आफ्नो जन्म थलो छोडन चाहेनन् । मर्भुङ्गकै माटोमा लडिबुडी गरि आफ्नो दैनिकी संगै सामाजिक कार्यमा सक्रिय रहे ।
विकास र सामाज सेवाको पर्यावाची जस्तै बनेका पौडेलको पछिल्लो २८ वर्षलाई हेर्दा उनले मर्भुङ्गका सबैजसो संघ संस्थामा नेतृत्व र सहभागीता जनाएका छन् । उमेर बढ्दै गयो,तागत घट्दै गयो तर समाज सेवामा उनको मन भने दिनप्रति दिन बढिरहेको छ ।
तत्कालीन थानपति प्राथमिक र अहिलेको थानपती निमाविमा उनी १५ वर्ष सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने । १५ वर्ष विद्यालयको नेतृत्व गरेका पौडेलले विद्यालयमा थुप्रै सुधारका काम गरे ।
सिमित स्रोत साधनका बाबजुद उनको अथक प्रयासमा विद्यालयले धेरै अविस्मरणीय कार्य गरेको स्थानीय बताउंछन् । २०१५ सालमा विद्यालय स्थापन भएको विद्यालयले निमावी तह बन्नको लागि २०६६ सालसम्म पौडेलकै नेतृत्व कुर्नु पर्यो ।
अर्थात पौडेलकै नेतृत्वमा तत्कालीन निमावी तह कक्षा ६–८ सञ्चालन भयो । विद्यालय त एउटा उदाहरण मात्रै हो मर्भुङ्गका सामुदायिक बन, मठ मन्दिर , मर्भुङ्ग स्वास्थ्य चौकी ,मालिका मावी जस्ता संस्थामा उनको योगदान छ । त्यति मात्रै होइन दघास मैदान सम्म पहिलो पटक मोटर समेत पौडेलकै नेतृत्वमा आएको थियो । २०६३ देखि २०६८ सम्म दघासको मोटर उपभोक्ता समितिको अध्यक्ष बनेर पौडेलले पहिलो पटक समैरुख,दोस्रो पटक बरारुख र तेसो पटक मैदान सम्म मोटर ल्याएका थिए । जुन अहिले यस मोटर बाटोमा बस,ट्रक समेत चल्ने गर्दछन ।
मर्भुङ्गको विकासमा अहोरात्र खटेका पौडेलले आइतबार अर्को सहयोग गरेका छन् । उनले दघासको थानपती निमाविलाई ३५ हजार दिएका छन् । आफ्ना स्वर्गीय बुबा लाल बहादुर पौडेलले स्थापना कालमा अध्यापन गराएको विद्यालयलाई उनले आर्थिक सहयोग गरेका हुन् ।
विद्यालयले पछिल्लो समय सुरु गरेको बृहत आर्थिक अभियानलाई साथ दिने उद्देश्यले सहयोग गरेको उनले बताए । ‘यो विद्यालय यस क्षेत्रकै पुरानो हो, यसलाई फलाउने फुलाउने हामी सबैको दायित्व सम्झेर बुवाको सम्झनामा सहयोग गरेको हुं’–उनले भने । पुर्व अध्यक्ष समेत रहेका पौडेलले अहिलेको कार्यसमितिले गरेको कामको समेत खुलेर चर्चा गरे ।
ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अंग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । अभियानबाट जम्मा भएको रकम अक्षय कोषको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुंदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ । सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर ०१४००७००६९०४७९०००००१) मा सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।




