बुटवल । बुटवलको कालिकानगरस्थित रोड डिभाइडरमा दाँत, मुख तथा गिजा रोगसम्बन्धी जनचेतना जगाउन सचेतनामूलक होर्डिङ बोर्ड टाँसिएको छ।
यो गतिविधि रोटरी क्लब अफ लुम्बिनी स्टारद्वारा सञ्चालित मुख स्वास्थ्य महाअभियानको भागस्वरूप सम्पन्न गरिएको हो।
मुख स्वास्थ्य अभियन्ता तथा हेल्थ डाइरेक्टर अमृत भुसालको जन्मदिनको अवसरमा क्लबका च्याटर प्रेसीडेन्ट रो. यादव भण्डारीले ब्यानर पढेर कार्यक्रमको औपचारिक उद्घाटन गरे।
स्मरणीय छ, रोटरी क्लब अफ लुम्बिनी स्टारले अघिल्लो वर्ष १ लाख विद्यार्थीलाई नि:शुल्क मुख स्वास्थ्य शिक्षा तथा परीक्षण कार्यक्रम सम्पन्न गरेको थियो।
यस वर्ष क्लबले आधुनिक समाज डेन्टल, बुटवलसँग सहकार्य गर्दै नि:शुल्क मुख क्यान्सर परीक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ।
इलेक्ट प्रेसीडेन्ट विमल ढकालका अनुसार, यस किसिमका कार्यक्रमहरूले समाजमा दाँत तथा मुख स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न र रोगको शीघ्र पहिचान गरी समयमै उपचार गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछन्।




