भैरहवा । केही दिनदेखि बढेको चिसो र शीतलहरले भैरहवासहित अधिकांश तराई मधेस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बढेको चिसोसँगै बिहान साँझ बाक्लो हुस्सु दिनभरि कुहिरो र हावाले दैनिक काम प्रभावित हुन थालेको छ । चिसो बढेसँगै शीतलहर सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, अबको केही दिनसम्म तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने र सो समयमा दैनिक जनजीवनमा असर पर्न सक्ने देखिएको छ । चिसोबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।
अधिकांश विद्यालय, क्याम्पसमा विद्यार्थीको उपस्थिति पनि न्यून छ, दिनभरि काम गरेर मुखहात जोर्ने मजदुरहरु पनि प्रभावित बनेका छन् । व्यापार–व्यवसाय पनि सुस्ताएकोले ठाँउ–ठाउँमा आगोको सहारा लिएर चिसो छलिरहेका छन् । मोटरसाइकल, साइकल, रिक्सा न्यून मात्र चलेका छन् भने चार पाङ्ग्रे सवारीसाधान पनि भिजिबिलिटी कम भएकोले खासै चलेका छैनन् । बजारमा चलहपहल कम भएको छ । वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् ।
गौतमबुद्ध विमानस्थलबाट काठमाडांै, पोखरा, चितवनलगायतका क्षेत्रमा दैनिक २ दर्जनभन्दा बढी उडान हँुदै आएकोमा नियमित उडान प्रभावित भएका छन् । बिहानका अधिकांश उडान प्रभावित हँुदै आएका छन् भने साँझ र दिउँसोको पनि उडान केही प्रभावित भएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय तहहरुलाई गरिब तथा विपन्न परिवार पहिचान गरी उनीहरुलाई ईन्धन, दाउरा, कम्बल जस्ता न्यूनतम खोज तथा उद्दार सामग्रीको प्रबन्ध गर्न आग्रह गरिएको बताए ।
शीतलहर सुरु भएसँगै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन स्थानीयलाई आग्रह गरेका छन् ।
उनले चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, सुत्केरी तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र तथा समुदाय पहिचान गरेर उनीहरूलाई जोगाउनका लागि विभिन्न कदम चाल्ने बताए ।
जाडो बढेसँगै अस्पतालमा आउने बिरामीहरुको संख्या पनि ह्वात्तै बढेको छ । मौसम चिसो भएको कारणा बालबालिकामा रुघाखोकी, निमोनिया, आगोले पोलेर र झाडा पखाला जस्ता पाचनसम्बन्धी रोगका बिरामीहरुको संख्या बढेको भिम अस्पतालले जानकारी दिएको छ । वृद्धवृद्धाहरुमा हाडजोर्नी दुख्ने, बाथको समस्या, ब्लड प्रेसर दमका रोगी, पेट दुखाई, मुटु रोगका बिरामीलाई अलि बढी समस्या देखिन्छ, चिसोको कारणले धेरै जसो बालबालिकाहरुमा रुघाखोकी, छातीको इन्फेक्सन, निमोनिया, रुघाखोकी साथसाथै बान्ता आउने, ज्वरो आउनु, पेट दुख्नुलगायत विभिन्न समस्याहरु देखा पर्ने भिम अस्पतालका सूचना अधिकारी डा.आरिफ हुसेनले बताए ।
चिसोले रोगको प्रतिरोधात्मक क्षमता कमजोर गर्ने र रोगको ब्याक्टेरीयाहरुले छिट्टै आक्रमण गर्ने भएकाले सुत्केरी महिला, बालबालिका, वृद्ध र दीर्घरोगी एवं लामो समयसम्म औषधी सेवन गर्नेहरु छिट्टै प्रभावित हुने गरेको डा. हुसेनले बताए ।
चिसो मौसमा खासगरी नवजात शिशु, बालबालिका र जेष्ठ नागरिकको हेरचाहमा विशेष ध्यान दिनुका साथै सजगता अपनाउनु पर्छ । चिसोबाट बच्न न्यानो कोठामा बस्ने, न्यानो कपडा लगाउने, जाडोको समयमा पानी कम खाने बानी हुँदा डिहाइड्रेसन बढ्न सक्ने भएकाले तातो र झोलिलो पदार्थ सेवन गर्नुपर्ने, व्यायाम, आराममा ध्यान दिनु चिकिस्तकहरुको सुझाव छ । जाडोमा ढोका थुनेर कोइला, हिटर वा ग्यास बालेर नबस्न पनि उनले सुझाव दिए । बालबालिका र वृद्धवृद्धाले खानपिनमा विशेष ध्यान दिनु आवश्यक छ । सुत्दा टाउको ढाकेर सुत्ने, बिहान बेलुका धेरै चिसो हुने हुँदा हिंड्नु पर्ने बेला नाकमुख ढाक्नेगरी माक्स लगाएर मात्र बाहिर निस्कनु पर्ने, बढी चिल्लो, बोसो युक्त मासु, मसलायुक्त खाना खानाले अपच तथा फुडप्वाजन जस्ता समस्या हुनेहुँदा खानपीनमा समेत ध्यान दिन जरुरी हुन्छ ।
‘जाडोमा अस्वस्थ देखिएमा बच्चाहरुलाई आफैँले औषधी किनेर खुवाउनुभन्दा अस्पताल ल्याएर डाक्टरको परार्मशले मात्र औषधिहरु दिने गनुपर्छ,’ डा. हुसेन भन्छन्– ‘चिकित्सकको परामर्श बिना जथाभावी औषधीको सेवनले बिरामीलाई थप समस्या सृजना हुने सम्भावना हुन्छ, जसले समस्यालाई झन विकराल बनाउँदा निमोनिया अझबढ्ने र गम्भीर बनाउने समस्या हुन्छ ।’ चिसो अत्याधिक बढेकाले सबैमा सजकता अपनाउन डा.हुसेनले आग्रह गरे ।
चिसो बढेपछि बिदा
चिसो बढेपछि रुपन्देहीका केही पालिकाले विद्यालयमा जाडो बिदा दिएका छन् । सोमबारदेखि मर्चवारी, कोटहीमाई र सम्मरीमाई पालिकामा बिदा दिइएको छ भने तिलोत्तमा, गैँडहवा र कंचनले बुधबारबाट बिदा दिएका छन् ।
सम्मरीमाई र मर्चवारीले पुस २२ देखि माघ २ गतेसम्म बिदा दिएका छन् । त्यस्तै कोटहीमाई गाउँपालिकाले पुस २२ देखि पुस २९ गतेसम्म बिदा दिएको छ । सम्मरीमाई र मर्चवारीले पुस २२ देखि माघ २ गतेसम्म विदा दिएका छन् । गैडहवाले बुधबारबाट विदा दिएको छ ।
बढ्दो शितलहरका कारण चिसो अत्याधिक बढेकाले प्रतिकुल मौसमका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै हिउँदे बिदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामूदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको पालिकाले जानकारी दिएको छ । विद्यालयहरु विदा भएपनि विद्यालयका प्रशासनिक काम÷काज खुल्ला रहने छन ।
नियमित उडान प्रभावित
हुस्सुका कारण मंगलवार विहानैदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि हवाइ उडान भएन । यहाँ दैनिक करिब २ दर्जन उडान हुने गर्दथ्यो । मौसम केन्द्रका अनुसार, भैरहवाको तापक्रम न्युनतम ११ देखि अधिकतम १५ डिग्री सेल्सियसको हाराहारीमा छ । बाक्लो कुहिरोका कारण भिजिबिलिटी न्युनतम ९ सय र अधिकतम १ हजार २ सय मिटर छ । विमान उडानका लागि कम्तिमा १ हजार ८ सय मिटरको भिजीविल्टी चाहिन्छ । रुपन्देहीको भैरहवा र आसपास क्षेत्रको मौसम अझ दुई–तीन दिन यस्तै बाक्लो हुस्सु, कुहिरो र शीतलहर चल्ने सम्भावना देखिएको छ । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित हवाइ मौसम केन्द्रले भैरहवा र आसपास क्षेत्रको मौसमका केही दिन यस्तै रहने पूर्वानुमान छ ।’ केन्द्रका प्रमुख तथा मौसमबिद् सुभाष रिमालले भने




