अविजित पन्थी - अर्घाखाँची । पाणिनी गाउँपालिकाले दुर्गाफाँटमा अपांगता भएका व्यक्तिहरुको पहिचान र उनीहरुको अधिकारको सुनिश्चितताका लागि विशेष कार्यक्रम आयोजना गरेको छ ।
‘पाणिनी र दुर्वाशा ऋषिको पहिचान, समृद्ध पाणिनी निर्माण हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा पाणिनी गाउँपालिकाभित्रका अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरिएको हो ।
कार्यक्रम गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम पौडेलको संयोजकत्वमा सम्पन्न भएको थियो । उनले समाजमा अपांगता भएका व्यक्तिहरुको सम्मानजनक जीवन र उनीहरुको सेवा सुविधामा सहज पहुँच पुर्याउने उद्देश्यले यो कार्यक्रम गरिएको बताइन ।
अपांगता परिचयपत्र वितरण अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ तथा पाणिनी गाउँपालिकाको अपांगता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७६ बमोजिम गरिएको हो ।
पूर्ण असक्त अपांगता भएका ३ जनालाई ‘क’ वर्ग, अति असक्त अपांगता भएका २४ जनालाई ‘ख’ वर्ग, मध्यम अपांगता भएका २ जनालाई ‘ग’ वर्ग, सामान्य अपांगता भएका ७ जनालाई ‘घ’ वर्गगरी जम्मा ३६ जनाले परिचयपत्र प्राप्त गरेका छन् । जसमध्ये १३ जना महिला र २३ जना पुरुष रहेका थिए । कार्यक्रममा पाणिनी गाउँपालिकाका ८ वटै वडाका जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले अपांगता भएका व्यक्तिहरुलाई आवश्यक सहयोग पुर्याउन गाउँपालिका सधैँ प्रतिबद्ध रहेको जनाए । ‘अपांगता भएका नागरिकहरुको हक, अधिकार र सेवा सुविधामा सहजता ल्याउने यो अभियानलाई हामीले दीर्घकालीन रूपमा अघि बढाउने छौं ।’– उनले भने । पाणिनी गाउँपालिकाको समृद्धि अपांगता भएका नागरिकहरुको सशक्तिकरणबाट सम्भव रहेको न्यौपानेले बताए ।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले अपांगता भएका व्यक्तिहरुको तथ्यांक व्यवस्थापनले उनीहरुको सेवा वितरणलाई थप प्रभावकारी बनाउने बताए । उनले भने–‘क वर्गका अपांगता भएका व्यक्तिले मासिक ४,००० र ख वर्गका व्यक्तिले मासिक २,४०० सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । अन्य अपांगता भएका व्यक्तिहरुले राज्यका समावेशी सिटमा प्रतिस्पर्धा गर्न, अस्पताल, हवाई तथा स्थल यातायातलगायतका क्षेत्रमा सहुलियत पाउने व्यवस्था गरिएको छ ।’
कार्यक्रममा अपांगता भएका व्यक्तिहरुका समस्या समाधान गर्न परिचयपत्र वितरणलाई महत्वपूर्ण माध्यमको रूपमा लिइएको छ । पाणिनी गाउँपालिकाले समावेशीता, पहिचान, र समृद्धिको अभियानलाई अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ ।




