बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मुद्दा चलाउनुपर्ने आशयसहित सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।प्रतिवेदनअनुसार लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा चार करोड रुपैयाँ बढीको बिगो मागदाबी हुने भएको छ ।
आइतबारदेखि नै प्रतिवेदन बुझाउने तयारी गरेको बुटवल प्रहरीले बिहीबार मात्रै प्रतिवेदन बुझाएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डितले जानकारी दिए ।
रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ बैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । सोही समयमा रविलाई भैरहवा ल्याएर बयान लिइएको थियो । सो बयानको आधारमा लामिछानेलाई मुद्दा दर्ता गर्ने आयशसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई प्रहरीले प्रदान गरेको छ ।
अनुसन्धानले लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुटवल प्रहरीले बुझाएको उनले जानकारी गराए । इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको उनले जानकारी दिए ।
उनले भने–‘हामीले आइतबारदेखि नै तयारी गरेका थियौँ । तर बिहीबारमात्रै प्रतिवेदन बुझाएका हौँ ।’ बुझाएको प्रतिवेदनको बारेमा धेरै कुराहरु खोल्न नमिल्ने तर्क गर्दै उनले सरकारी वकिलको कार्यालयले आवश्यक प्रक्रिया थाल्ने बताए ।
यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जित सिंह राठोरले ईप्रका बुटवलले तयार पारेको प्रतिवेदन बुझाइएको बताउँदै आवश्यक अध्ययनपश्चात् अन्य कार्य सरकारी वकिलको कार्यालयले गर्ने दोहोर्याए । उनले प्रहरीको अनुसन्धानले मुद्दा चलाउनुपर्ने राय दिइएको व्यक्तिलाई मुद्दा चल्दै आएको स्मरण गर्दै आवश्यक कारबाही सरकारी वकिलको कार्यालयबाट हुने उल्लेख गरे ।
उनले भने–‘हामीले प्रहरी अनुसन्धान गरेर प्रतिवदेन बुझाएका हौँ । मुद्दा दर्ता हुनुपर्ने अवस्था देखिएकोले राय दिइएको हो । अब के र कसरी हुन्छ भन्ने कुरा सरकारी वकिलको कार्यालयबाट नै हुनेछ ।’
इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेलाई चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । बुटवलका डीएसपी विजय पण्डितले लामिछानेविरुद्ध व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी हुनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको बताए ।
अनुसन्धानको क्रममा २ करोड रवि लामिछानेको नाममा गएको भौचर बरामद भएको र गोर्खा मिडिया प्रालिमा गएको रकम गरी ४ करोड बिगो मागदाबी गरिएको डीएसपी पण्डितले जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले बिहीबार लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डितले पुराना २८ र नयाँ १४ गरी ४२ जनाविरुद्ध मुद्दा चलाउने रायसहित सरकारी वकिलको कार्यालय रुपन्देहीमा प्रतिवेदन बुझाएको बताए । उनका अनुसार रविसँगै नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशी, अनन्तबाबु राई, विज्ञान राई, दीपक लामा, लक्ष्मी पौडेललगायत १४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय प्रहरीको छ ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्यननकै क्रममा रहेको सरकारी वकिल कार्यालयले जनाएको छ । जिल्ला सहकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलले प्रतिवेदन आए पनि कसरी जाने भन्ने छलफलकै क्रममा रहेको बताए । उनले भने–‘अध्ययन गरिरहेका छौं । अब कसरी जाँदा उपयुक्त हुन्छ भनेर छलफल भइरहेको छ ।’ प्रतिवेदन अध्ययनपछि आइतबार वा सोमबारतिर मात्रै मुद्दा दर्ता गरिने सरकारी वकिल कार्यालयको भनाइ छ ।
यता सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीबाट ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।
लामिछानेविरुद्ध काठमाडौंमा भने कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ ।
गत आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।




