परासी। नवलपरासीको प्रतापपुरमा विद्यार्थीलाई कुटपिट गर्ने शिक्षिकाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । प्रतापपुर गाउँपालिका– १ स्थित एच पाठशालाको युकेजीमा अध्ययनरत ६ वर्षका प्रशान्त चौधरीलाई शिक्षिका सञ्जु चौधरीले पिट्दा आँखामा गम्भीर चोट लागेको थियो ।
मुद्दा दायर भएपछि शिक्षिका फरार छन् । पक्राउ पुर्जी लिएर फरार शिक्षिकाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यकालका सूचना अधिकारी डिएसपी रेसम बोहराले जानकारी दिए । घटना मंसिर १८ गतेको हो । मिलापत्र गर्न लागेको अवस्थामा मात्र घटना बाहिरिएको प्रहरीले जनाएको छ । त्यसपश्चात् मात्र उनीमाथि मुद्दा दायर गरिएको डिएसपी बोहराले बताए । शिक्षिका चौधरीमाथि ‘कुटपिट अङ्गभङ्ग’ अभियोगमा मुद्दा चलाइएको छ ।
विद्यालयमा दुई जना साथीहरू झगडा गरेको र छुट्याउने क्रममा शिक्षिका चौधरीले प्लास्टिकको लट्ठीले हान्दा आँखा फुटेको बालकका बुवा नरेन्द्रप्रसाद चौधरीले बताए । ‘उपचारको क्रममा चिकित्सकले देब्रे आँखाले देख्न नसक्ने बताएका छन् । छोराको जीवन नै बर्बाद हुनेभयो ’ चौधरीले भने । बालकको आँखामा चोटपटक लागेपछि विद्यालयले स्थानीय मेडिकल, परासी र भैरहवा आँखा अस्पताल हुँदै काठमाडौँको तिलगंगा आँखा अस्पतालमा उपचारको लागि लगेको थियो । सुरुमा विद्यालयले उपचारमा लागेको रकम दिए पनि मुद्दा प्रक्रिया अघि बढेपछि दिन छाडेको पीडित परिवारको भनाई छ ।
बालकको अहिले सिविन नेपालको पहलमा उपचार भइरहेको बताइएको छ । पाठशालाका प्रिन्सिपल सुजितकुमार गुप्ताले घटना दुःखद भएको भन्दै घटनामा संलग्न शिक्षिका सम्पर्कमा नभएको र विद्यालयले बालकको उपचार गर्ने, निःशुल्क अध्ययन र रोजगारीको ग्यारेन्टी गर्ने पनि बताए ।




