अर्घाखाँची । सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संघियता कार्यान्वयनका चरणमा रहेकाले पत्रकारहरुको भुमिका अहम हुने बताएका छन् ।
संघियताबारे गलत ढंगले प्रचारबाजी भईरहेकाले यसलाई चिर्न सञ्चार जगत लाग्नु पर्ने बताए । गृहजिल्ला अर्घाखाँची आएका प्रदेश प्रमुख मियाँले देशका ठुलाठुला परिवर्तनमा सञ्चार क्षेत्रले महत्वपुर्ण योगदान गरेको स्मरण गर्दै उनले संघियता कार्यन्वयनको चरणमा पनि सञ्चार माध्यमहरु सकारात्मक ढंगले लाग्नुपर्ने बताए । ‘सञ्चार क्षेत्रको विगतमा पनि उल्लेख्य भुमिका छ,उनले भने,‘संघियताबारे नकारात्मक प्रचारबाजी भएका छन् । त्यसलाई सञ्चार जगतले चिर्नु पर्छ ।’
उनले भुमिका तलमाथी भएपनी संघियता कार्यन्वयन गर्ने दायित्व सबै निकायको रहेको बताएका छन् । सरकारी, गैरसरकारी निकाय र आम नागरिक मिलेरै संघियता कार्यान्वयन हुने भएकाले यो सबैको दायित्व भएको बताए । कुनै एक तह वा एक निकाय लागेर संघियताको पुर्ण कार्यान्वयन नहुने भएकाले सबै आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने उनको भनाई थियो । संघियताका बेफाईदाहरु देखाएर धावा बोल्ने काम भएको भन्दै यसका फाईदाहरु ओझेलमा पारिएको बताए ।
संघियताले गाउँगाउँमा विकासको आभास दिलाएको भन्दै केन्द्रिकृत शासन प्रणाली उत्तम नहुने बताए । तहगत सरकार हुँदा दुर दराजका नागरिकले त्यसको फाईदा लिएको भन्दै मियाँले पहिल्यै अभ्यास गरेर फालिएको केन्द्रिकृत शासन प्रणाली फेरी ल्याउने सम्भावना नरहेको स्पष्ट पारे ।
पत्रकारहरुसंग कुरा गर्दै प्रमुख मियाँले सुदुरपश्चिम प्रदेश सरकार आफु गएपछी व्यवस्थित भएको बताए । ‘म प्रमुख भएर जाँदा प्रदेश अस्तव्यस्त थियो,उनले भने,‘म गएपछी केही नयाँ अभ्यासहरु गर्यौं र केही व्यवस्थित भएको छ ।’
प्रदेश सरकारले भुमिका अनुसारको काम गरेकाले दोष दिने ठाउँ नरहेको उनको भनाई छ । समयक्रमसंगै सबै कुराहरु ठिक ढंगले अँघीं बढ्ने भएकाले आत्तिनुपर्ने कुनै कारण नरहेको बताए ।




