२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • बुटवल । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ । विशेष गरी पुस महिनाको अन्तिम दिनदेखि सुरू भई माघ २ सम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व सुरू भएको थारू अगुवा प्रभातकुमार चौधरीले जानकारी दिए ।

    आज बिहानैदेखि थारू गाउँहरूमा मासुका लागि जिता मार्ने (बङ्गुर काट्ने) क्रियाकलाप सुरू भइसकेको थारू अगुवा चौधरीले बताए । त्यस्तै राति थारू जातिको संस्कृतिअनुसार नाचगान गरी रातभर जाग्राम बस्ने, भगवान्का नाममा ध्वनि जगाएर (धमार) भजनर्कीतन गर्ने, आगो ताप्ने, गञ्जी, तरूलजस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत रहेको उनले बताए ।

    'माघे सङक्रान्तिका दिन विशेष गरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गर्ने र नुहाउने बेला नदीमा डुबुल्की लगाएर सिक्का पैसा छोड्ने गरिन्छ । त्यसपछि नुहाइसकेपछि धमार गाउँदै घरमा आएपछि घरका महिलाले छुट्याइएको चामल र मासको दाललाई छुने र ती छोएका चिज घरका छोरीबेटीलाई छुट्याउने प्रचलन छ', उनले भने, 'त्यसपछि घरमा भएका पुर्खा तथा आफूभन्दा ठूलाबडाबाट आर्शीवाद लिने परम्परा रही आएको छ ।' तेस्रो दिन अर्थात् माघ २ मा चामल र मासको दालको खिचडी खाने, नजिकैका बजारमा जाने परम्परा पनि रहेको उनले बताए ।

    थारू समुदायको मुख्य पर्व भएकाले यतिबेला थारू गाउँबस्तीमा पर्वको रौनक छाएको गोदावरी नगरपालिका–८ फकलपुरका स्थानीय माधव चौधरीले बताए । उनले भने, 'थारू समुदाय बसोबास गर्ने गाउँ, बस्ती अहिले माघीमय भएका छन् ।' यति मात्र नभएर थारू जातिको परम्परा, लोक संस्कृति झल्कने मघौटा नाच, लोक गीतसँगै डफ र मादलको आवाज पनि गाउँघरमा गुञ्जिन लागेको छ ।

    यो पर्वमा थारू समुदायले विगतको गतिविधिको समीक्षा गर्छन् । 'माघी पर्वसँगै थारू समुदायमा विधिवत् रूपमा विवाह, अंशबण्डालगायत कार्यको थालनी हुन्छ', चौधरीले भने, 'यस दिन आपसी वैमनश्यलाई त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी अण्डी चामलको भातरोटी, ढिक्री, मासुलगायत थारू खानाका विभिन्न परिकार खाने र खुवाउने चलन छ ।' यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँ–नयाँ लुगाकपडा लगाउने चलन छ । रोजगारीका लागि बाहिरका घरपरिवारका सदस्य पर्व मनाउनका लागि घर पुगिसकेका छन् ।

    पर्वमा विषेश गरी अण्डी चामलको भात, रोटी, ढिक्री, बरिया, घोङ्गी, बङ्गुरको मासु, माछा, गङ्गटालगायत स्थानीय खानाका पकवान खाने चलन छ । बालबालिकादेखि वृद्घवृद्घासम्म रमाउने मूख्य पर्व भएकाले तामझामका साथ पर्व मनाइरहेको धनगढीको बैयाबेहडीका माइला चौधरी बताउँछन् । 'गाउँमा आफन्त, परिवारका सदस्य तथा साथीभाइ मिलेर रमाइलो गरिरहेका छौँ, खानपिन गरिरहेका छौँ,' उनले भने, 'हाम्रो समुदायको यो पर्वको चहलपहलले विगतका सम्पूर्ण पीडा भुलाइदिन्छ ।'

    माघी मनाउन थारू समदायका गाउँ, बस्ती आसपासका क्षेत्रमा गाउँमा मेला तथा महोत्सवको आयोजना गरिएको छ । माघीपर्वकै अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकाले आज सार्वजनिक बिदासमेत दिएको छ । रासस

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij