बुटवल । बुटवलमा रहेको सुप्रिम सहकारीको रकम ठगीको आरोप लागेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहित २२ जना विरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा अपरान्ह दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले सहकारी ठगी प्रकरणमा पछि खुलेका २२ जना बिरुद्ध पुरक जाहेरी सहित आइतबार मुद्दा दर्ताका जिल्ला अदालत रुपन्देहीमा लागि पठाएको थियो।
सरकारी वकिल कार्यालयले पठाएको जाहेरी सहितको फाइल रुजु गरेर दर्ता गरिएको सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख प्रेम पौडेलले जानकारी दिए । मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दता भएको उनले जानकारी दिए।
जिल्ला सरकारी वकिल कार्यालयले २५६ पृष्ठ लामो अभियोग पत्रमा सुप्रिम सहकारीका बचतकर्ताहरूको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको आरोपमा लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसहितलाई मुद्दा दायर गरेको हो ।
यसअघि जिल्ला सरकारी वकिल कार्यालयले गत बैशाख ३ गते २८ जनाविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरेको थियो । त्यतिबेला १ अर्ब ३ करोड बिगो माग गरिएकोमा हाल पुरक अभियोग पत्र दर्ता गर्दै वकिल कार्यालयले लामिछाने र जोशीसहित १७ जनालाई सहकारी ठगी र संगठित अपराधको आरोपमा कारबाही गर्न माग गरेको हो ।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ। प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहितलाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रवार प्रहरीले बुझाएको थियो।
लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर पूरक अभियोग दर्ता भएको सूचना अधिकारी मरासिनीले बताए । यसअघि गत वैशाखमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।
तर, उनीहरुमध्ये १७ जनाविरुद्ध थप अभियोगसमेत लगिएको छ। यसअघि नै सहकारी ठगीको मुद्दा लगिएका मध्ये केहीलाई पूरकअभियोगमा पनि प्रतिवादी बनाइएको छ। उनीहरुलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा सजाय माग गरिएको छ।
रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्त मरासिनीका अनुसार जीवी राईलाई ५१ करोड १ लाख र लामिछाने सहितलाई १० करोड १९ लाख ३६ हजार बिगो राखिएको छ ।पूरक अभियोग र थप अभियोगसहित यो मुद्दामा जम्मा प्रतिवादी ४२ जना भएका छन्। पहिलो चरणको मुद्दामा ८६ करोड रुपैयाँ बिगो कायम गरिएको थियो। प्रतिवादी थप भएसँगै बिगो पनि झण्डै डेढ अर्ब पुगेको हो।
रवि लामिछाने र छविलाल जोशीसहित पूरकअभियोगमा प्रतिवादी छन्। मुद्दा दर्ता भएसँगै अब उनीहरूले रुपन्देही अदालतमा उपस्थित हुनु पर्नेछ। उनी सोमबार नै आउने तयारी गरेको उनी निकटका कानून व्यवसायीले बताएका छन्।
यसअघि रविलाई कास्कीको सूर्यदर्शन सहकारीमा ६५ लाख रुपैयाँ र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा ६० लाख रूपैयाँ धरौटीमा रिहा गरिएको छ। त्यस्तै छविलाई सूर्यदर्शनमा ८८ लाख रुपैयाँ र स्वर्णलक्ष्मी सहकारीमा अहिले थुनछेक बहस भइरहेको छ।
प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा (सामूहिक) २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रूपैयाँको बिगो माग दाबी गरिएको छ। त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख र मिडियाको नाममा (सामूहिक) १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रूपैयाँ बिगो दाबी गरिएको छ।
यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ।




