भैरहवा । पर्यटकीय सिद्धार्थनगर बुद्धजन्मस्थल लुम्बिनी प्रवेशद्वार हो । यहाँ दैनिक सयौँ पर्यटकहरुको आगमन हुदा छाडा चौपाया चुनौतीको रुपमा रहेको छ ।
विकसित शहरउन्मुख भैरहवामा अव्यवस्थित छाडाचौपायाले नगरको सौन्दर्यीकरणमा प्रभाव पार्नुका साथै दुर्घटना पनि निम्तयाउने गरेकोले सिद्धार्थनगर नगरपलिकाले छाडा चौपाया व्यवस्थापनको लागि अभियानको सुरुवात गरेको छ । सडकमा रहेका गाई, गोरु, बाच्छा, बाच्छी लगायतका चौपायालाई व्यवस्थापन गर्ने तर्फ सिद्धार्थनगर नगरपलिका एक दशक अघि देखि प्रयासरत रहेपनि दीर्घकालिन समाधान गर्न सकेको छैन ।
राजमार्ग, बजार, भित्री बाटोहरुमा छाडा चौपायाका कारणले बढ्दो सडक दुर्घटना निम्तिने गरेको छ । समय समयमा स्थानीय स्तरबाट व्यापक आलोचना हुने छाडा चौपाया व्यवस्थापन, चौपायाका कारण दुर्घटनामा परी यात्रुहरुको ज्यान समेत गएकाले चौपायाको बढदो समस्याको समाधानका लागी सिद्धार्थनगर नगरपालिकाले सक्रियता बढाउदै नगर प्रवक्ताको संयोजकत्वमा अभियान सुरु गरेका हो ।
बिगतमा पनि सडक चौपाया ब्यबस्थापन गर्न अभियान सुरु भएका थिए । तर त्यति प्रभाबकारी बन्न सकेको थिएन् । तर अहिले जनप्रतिनिधीहरु पनि भएको अबस्थामा छाडा चौपाया ब्यबस्थापन सहज हुने बिश्वास आम नगरबासीको छ । अभियानमा नगरपालिकाका कर्मचारी, नगरप्रहरी र प्रशासनको सहकार्य रहेको छ ।
अघिल्लो बर्ष पश्चिम नवलपरासीको एक गौशालाको समन्वयमा छाडा चौपाया व्यस्थापन गरेको नगरपालिकाले यो पटक कपिलबस्तुको बाणगंगा नगरपालिकासगंको समन्वयमा व्यबस्थापन सुरु गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशाकिय अधीकृत जनक थापाले जानकारी दिए ।
यो बर्ष शनिवारदेखी छाडा चौपाय व्यवस्थापन अभियान सुरु गरिएको र पहिलो दिन ५४ वटा छाडा चौपाया बजार क्षेत्रबाट नियन्त्रणमा लिई होल्डिङ्ग सेन्टरमा राखिएको छ । ती संरक्षित चौपायाहरुलाई नगरपालिकाले ट्रकमा लोड गरि बाणगंगा स्थित गौशाला पठाइएको प्रमुख प्रशाकिय अधीकृत थापाले जानकारी दिए । यस अघि पनि विभिन्न प्रयासहरु भएका थिए तर अहिले हामीले अभियानकै रुपमा लिएर यसलाई समाधान गर्ने तर्फ लागेका छौ, सबैको साथ र सहकार्य हुन जरुरी रहेको उनले भने ।

नगरपालिकाले शनिबार नगरका छाडा चौपायालाई नियन्त्रणमा लिएकोमा ३ जनाले आफ्नो हो भनि दाबी गरेकोले उनीहरुलाई पहिलो पटक न्युनतम सात हजार जरिवाना गराएर दिईने व्यवस्था गरिएको छ भने जम्मा गरीएका चौपायाहरु दाबी गर्न नआएका चौपायालाई गौशाला पठाइएको छ ।
दुध दिदा सम्म राख्ने र दुध दुहेर छाडा छाड्ने प्रवृति एकातर्फ छ भने थारा, बेत बसेका वा दूध दिन छोडेका र बिरामी गाईगोरु बेवारिसे अवस्थामा छोडिदिन गरिएको पाइएको छ । पशुधनिले दिनभरी गाई घरमै राख्ने र रातपरे पछी सडकमा छाडिदिने गरेको समेत पाइएको छ । दुध दिदा सम्म घरमै राख्ने र दुध दिन छाडेपछी(थारो) त्यसै छाडिदिने कारणले पनि सडक चौपाया बढेका हुन् ।
खुला सिमानाका कारण पनि भारतबाट केही मात्रामा गाई, गोरुहरु आउने सम्भावना रहन्छ ती सबैलाई मध्यनजर गर्दै नगरपालिकाले अभियान मार्फत व्यवस्थापनमा लागेको सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं छाडाचौपाया व्यवस्थापन संयोजक भोला यादवले भने । यहाँ करिब सय बढि छाडा चौपाया रहेको तथ्याङक छ जसलाई सुरक्षित साथ व्यस्थापन सुरु गरिएको र यसलाई नियमित गरिने बताए ।
सहर बजारका पसले, सडकमा गुड्ने गाडीदेखि बस्तीका किसानसम्मलाई छाडा चौपायाले हैरान बनाउन थालिएपछि व्यस्थापन सुरु गरिएका सिद्धार्थनगर नगरपलिकाका प्रमुख ईस्यिाक अहमद खाँले जानकारी दिए । यो अल्पकालिन र तत्कालको लागि समाधान गर्ने प्रयास हो, नगरपालिकाको दीर्घकालिन छाडा चौपाया व्यवस्थापनका लागि वडा नं ११ मा नगरपलिका स्वामित्वको करिब ६–७ विघा जग्गामा आफ्नै गौशाला निमार्णको काम भइरहेको छ ।
छाडा पशु चौपायाले रुपन्देहीमा दुर्घटनाको जोखिम बढी रहेकोले र सौन्दर्यरता माथि पनि प्रश्न उठ्ने गरेकोले चौपाया व्यवस्थापनलाई दीर्घकालिन योजना सहित छाडा चौपाया व्यवस्थापनका लागि वडा नं ११ मा आफ्नै गौशाला निमार्णको काम भइरहेको छ । कान्जीहाउसमा नगरभित्र रहेका छाडा चौपायालाई त्यहा राखेर तिनीहरुका संरक्षण, उपचार र पालन पोसण हुन्छ ।
संविधानको स्थानीय सरकार संचालन ऐनको परिच्छेद–३ अन्तर्गत दफा–११ को उपदफा २ मा छाडा पशु चौपायाको नियन्त्रण गर्ने अधिकार स्थानीय तहलाई सुनिश्चत गरेको छ । नगरपालिकाले यस अघि भलुही र बाउन्नकोटीमा रहेको गौशालाका लागि पनि बजेट छुट्याएर छाडा चौपाया व्यवस्थापन गरेको थियो ।
सडकमा छाडिएका चौपायाका कारण ठूलो दुर्घटनाको जोखिम छ । भैरहवाको मुख्य बजार बैंकरोड, गल्लामण्डी, विपीपथ, लुम्बिनीरोड, आवारोड, हाटबजार, मिलनचोक, नारायणस्थान, सिद्धार्थराजमार्ग लगायतका स्थानमा पशु चौपायाकोले आवगमनमा अवरोध गर्ने गरेका थिए ।




