बुटवल । नेकपा एमाललेले प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार रुपन्देही आउँदै छन् । प्रधानमन्त्री ओली बुटवल गोरुसिंगे सडक सिलान्यास गर्ने कार्यक्रममा सहभागी हुनेछन्। बुटवल गोरुसिंगे सडक आयोजना प्रमुख ईन्जिनियर कुशलता न्यौपानेका अनुसार दिउसो १३:१५ बजे प्रधामन्त्री बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा आयोजित सडक स्तरोन्नती सिलान्यास कार्यक्रममा सहभागी हुनेछन्।
सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरूसिंगेसम्म ५० किलोमिटर र गोरूसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक बनाउँदैछ। पहिलो चरणमा बन्न लागेको बुटवल–गोरूसिंगे खण्डको प्रधानमन्त्री ओलीले सिलान्यास गर्न लागेका हुन्।
बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरूसिंगेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो। चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरेको यो सडक स्तरोन्नती गर्दा सञ्चालनमा रहेको यातायात सेवा अवरुद्ध नहुनेगरी निर्माण गरीने आयोजना प्रमुख कुशलता न्यौपानेले बताईन्।
हामीले यो सडक निर्माणमा हाल सञ्चालन रहेको यातायात सेवा अवरुद्ध हुन नदिने र यात्रुहरुलाई सास्ती नहुने गरी सबै उपायहरु अवलम्वन गर्ने छौं बुटवल नारायणगढ सडक निर्माणमा खेप्नु परेको सास्ती र आलोचना दुवैबाट मुक्त हुनेगरी काम अगाडी बढाउने छौं उनले भनिन्।
आयोजना प्रमुख न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग सडक स्तरोन्नतीका लागि कार्यादेश लिएको कम्पनीले ल्याब, क्रसर र कंक्रिट बनाउने ठाउँ बनाइ सकेको छ।
आयोजना प्रमुख न्यौपानेका अनुसार निर्माण कम्पनी एउटै भए पनि दुई भागमा विभाजन गरी अलग अलग ठेक्का भएकाले काम पनि दुई तर्फबाट एकैपटक सुरू हुनेछ। पचास किलोमिटर सडक अन्तर्गत सालझण्डी–पिपरा र वनगाई–गोरूसिंगेसम्म करिब २० किलोमिटर जंगल क्षेत्र छ। यो खण्डमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ।
पूर्व–पश्चिम राजमार्ग खण्ड भएकाले बजार तथा बस्ती क्षेत्र पर्ने ३० किलोमिटरमा भने दुवैतर्फ सर्भिस लेन सहितको ६ लेन सडक बन्ने न्यौपानेले जानकारी दिइन्। सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ। ठूला चोकमा अन्डर पास र ओभर पास हुनेछ।




