बुटवल । बुटवलमा फोहोर टिप्ने प्रतियोगिता आयोजना गरिएको छ । सरसफाइ र वातावरणीय जागरूकता फैलाउने उद्देश्यले क्लोथ एण्ड फुड बैंक नेपालको आयोजनामा माघ १९ गते प्रतियोगिता आयोजना हुन लागेको हो ।
एक घण्टाभित्र ६ किलोमिटर क्षेत्रमा जसले धेरै नकुहिने फोहोर संकलन गरी ल्याउँछ उही विजेता हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठले बताए ।
दौडमा एकजनाले फोहोर टिप्ने र अर्को एकजनाले बोक्ने गरी २ जनाको समूहका बिच प्रतिस्पर्धा गराई सबैसन्दा धेरै फोहोर जम्मा गरेका आधारमा पुरस्कृत गरिने उनले बताए । दौडमा १६ वर्षमाथिको उमेरका जो सुकैले २ जनाको टिम बनाएर सहभागी हुन सक्ने उनले बताए ।
प्रतियोगतामा पहिलो स्थान प्राप्त गर्नेले ५५ हजार, दोस्रोले ३० हजार र तेस्रोले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसीले जानकारी दिए । ‘नगरलाई सफा राख्न फोहोर व्यवस्थापन र वातावरण संरक्षणमा जागरण ल्याउन यो खाले प्रतियोगिता आयोजना गरेका हौं,’–अध्यक्ष जीसीले भने–‘निकट भविष्यमा यो प्रतियोगितालाई देशव्यापी बनाउने लक्ष्य छ ।’
जीसीले निकट भविष्यमा बुटवलमा प्रदेशस्तरको मिडिया अवार्ड कार्यक्रम सञ्चालन गर्न लागेको समेत जानकारी गराए । कार्यक्रमले समुदायलाई र स्वच्छता र फोहोर व्यवस्थापनप्रति सचेत बनाउने आशा लिइएको आयोजक संस्थाका राजीव गौतमले बताए ।




