बुटवल । स्वाभिमान टोल विकास संस्था बुटवल–११ देवीनगरले सार्वजनिक पार्क बनाउने भएको छ । टोल विकास संस्थाको बिहीबार सम्पन्न आठौं वार्षिक साधारणसभाले लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने रकमबाट सार्वजनिक पार्क बनाउने निर्णय गरेको हो । प्रदेश सरकारबाट प्राप्त हुने दश लाख रकम समेतबाट देवीपथको पूर्वतर्फ सार्वजनिक जग्गामा पार्क बनाउने तयारी गरिएको टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण कण्डेलले जानकारी दिए ।
टोल विकास संस्थाको आठौं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै बुटवल उप–महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले पूर्वाधार विकाससँगै सामाजिक विकासतर्फ अग्रसर हुनु सकारात्मक रहेको बताए ।
संघ, प्रदेश र उप–महानगरपालिकाबाट गरी ११ नं. वडामा एक वर्षमा ३० करोड बजेट परेको भन्दै वडाध्यक्ष क्षेत्रीले आफूहरु वडामा समानुपातिक विकासमा लागिपरेको बताए ।
सो अवसरमा देवीनगर वातावरण संरक्षण तथा सरसफाइ उपभोक्ता सहकारी संस्थाका कोषाध्यक्ष हरिप्रसाद भट्टराई, शिवशक्ति टोल विकास संस्थाका अध्यक्ष दुर्गाबहादुर खनाल, समाज सुधार टोल विकास संस्थाका अध्यक्ष चिन्तामणि ज्ञवालीलगायतले बोलेका थिए । साधारणसभाले अध्यक्ष रामकृष्ण कण्डेलद्वारा प्रस्तुत नीति, कार्यक्रम तथा कोषाध्यक्ष नारायण गौतमद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण कण्डेलको अध्यक्षता, उपाध्यक्ष मञ्जु सूर्यवंशीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव अमर प्रधानले गरेका थिए ।




