नवलपरासी । एकसिङ्गे गैँडाको आन्तरिक स्थानान्तरणको काम शुरु गरेको चितवन राष्ट्रिय निकुञ्जले एउटा पोथी गैँडा स्थानान्तरण गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरका अनुसार निकुञ्जको पश्चिम क्षेत्र नवलपुरबाट एउटा पोथी गैँडा पूर्वी क्षेत्रमा लगिएको हो ।
निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि चारवटा गैँडालाई निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न हिजोदेखि काम थालिएको हो । यसपटक चार वटा गैँडा स्थानान्तरण गर्न लागिएकोमा अब दुई वटा भाले र एउटा पोथी गैँडा स्थानान्तरण गरिनेछ ।
निकुञ्जको नवलपुर क्षेत्रबाट लगिने ती गैँडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोडिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिए । रासस




