बुटवल । शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयां नेतृत्वका लागि हुने चुनावमा नेकपा एमाले र नेपाली कांग्रेसबाट बागी उम्मेदवार उठेका छन् ।
अध्यक्ष , उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा पनि कांग्रेस र एमालेका बागी उम्मेदवार छन् । बागी उम्मेदवार उठेपछि दुबै दलभित्र रडाको मच्चिएको छ ।
एमालेले तिलोत्तमा नगर इन्चार्ज बासुदेव घिमिरेलाई संयोजक बनाएर पटक पटक वैठक बसेर झबिन्द्र भण्डारीलाई अध्यक्ष बनाउने निर्णय गरेपछि अन्तिममा आएर एमाले नगर अध्यक्ष मिनप्रसाद पोखरेलले रुद्र श्रेष्ठलाई अघि सारेपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ ।
एमाले शंकरनगरका अधिकांश नेता कार्यकर्ता झबिन्द्रको पक्षमा छन् । कांग्रेस, माओवादी र जनमुक्तिका खानेपानी संस्थाका मतदाता पनि झविन्द्रको पक्षमा भएकाले आफ्नो जित निश्चित भएको भण्डारी बताउंछन् ।
पुस १८ गते पार्षदको चुनाव भएपनि कांग्रेस र एमालेबीच आन्तरिक किचलोले झण्डै डेढ महिनापछि मात्रै चुनाव हुन लागेको हो । खानेपानीका उपभोक्ताहरुले प्रत्यक्ष चुनाव हुनुपर्ने माग गरेका छन् ।






