बुटवल । शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयां नेतृत्वका लागि आज भएको चुनावमा नेकपा एमाले, नेपाली कांग्रेस र जनमुक्ति पार्टीको गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै झविन्द्र भण्डारी विजयी भएका छन् । भण्डारी नेकपा एमालेकै बागी उम्मेदवार हुन् । खानेपानी संस्थाको अध्यक्ष रहेका भण्डारीले ७१ मत पाएर विजयी हुंदा तीन दलीय गठबन्धनका उम्मेदवार रुद्र श्रेष्ठले ३१ मत मात्र पाए । संस्थामा ८ वटा क्षेत्रका १०३ जना पार्षद मतदाता थिए ।
नेकपा एमाले र नेपाली कांग्रेसबीच भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाउन एक महिना अघि नै सहमति भएको थियो । जसअनुसार एमाले तिलोत्तमा नगर इन्चार्ज बासुदेव घिमिरे संयोजक रहेको संयन्त्रले पटक पटक वैठक गरेर अनुमोदन पनि गरेको थियो । तिलोत्तमाको वडा नं १ देखि ४ सम्मका पार्टी वडा इन्चार्ज र र ४ वटै वडाका शाखा कमिटी अध्यक्षहरुले झविन्द्रलाई अध्यक्ष बनाउने निर्णयमा हस्ताक्षर गरेका थिए ।
तर निर्वाचनको केही दिनअघि एमाले नगर अध्यक्ष मिनप्रसाद पोखरेलले रुद्र श्रेष्ठलाई अध्यक्षमा अघि सारेपछि पार्टीभित्र विवाद उत्पन्न भएको थियो । एमाले स्रोतका अनुसार एमाले जिल्ला अध्यक्ष यज्ञ गैरेको समेत निर्देशनमा नगर अध्यक्ष पोखरेलले श्रेष्ठलाई अघि सारेका थिए । कांग्रेसका नगर सभापति हरिलाल पाण्डे,एमाले नगर अध्यक्ष पोखरेल र जनमुक्तिकी नगर अध्यक्ष राधिका श्रीस पुनले हस्ताक्षर गरी श्रेष्ठ आधिकारिक उम्मेदवार भएको भन्दै पार्षद (मतदाता) संग उम्मेदवारको सूूचि बांडेर मत मागिएको थियो ।
पुर्व सहमति र निर्णय विरुद्ध अर्को निर्णयलाई राजनीतिक अराजकता भन्दै नगर इन्चार्ज बासुदेव घिमिरेले सामाजिक सञ्जालबाटै असन्तुष्टी जनाएका थिए । उनले ‘हरेक निर्णयहरु गर्दा फरक मत राख्न सकिन्छ तर विधिसम्मत निर्णय भएको विषयलाई निस्सर्त कार्यान्वयन गर्नु प्रत्येक सदस्यको दायित्व र कर्तव्य पनि हो ।आधिकारिक निर्णयको विरुद्वमा जानु भनेको राजनीतिक अराजकता हो’ भनेर लेखेका थिए ।
खानेपानीको कार्यक्षेत्र पर्ने तिलोत्तमाका एमालेका वडा कमिटी अध्यक्ष र उपभोक्ताहरु अधिकांश झबिन्द्रको पक्षमा थिए । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, कांग्रेस र जनमुक्तिका परिषद सदस्य समेतको साथले बागी उम्मेदवार भण्डारीले शानदार जित हासिल गरे ।
संयन्त्रको वैठकले गरेको निर्णयमा नगर इन्चार्ज सहित ४ वटा शाखा कमिटी अध्यक्ष र इन्चार्जले हस्ताक्षर गरेका थिए । जसमा नगर अध्यक्ष मिनप्रसाद पोखरेल र दिनेश फुल्लेलले हस्ताक्षर गरेका थिएनन् । मतदानको दिन जिल्ला अध्यक्ष यज्ञ गैरेले जिल्ला कमिटीका सदस्यहरुलाई फोन गरेर नगर अध्यक्षको निर्णय नै आधिकारिक हो भनेका र नगरभित्रका पार्टीकै एक सिनियर नेताले जिल्ला अध्यक्षले भने अनुसार गर्नु भनेर कार्यकर्तालाई निर्देशन दिएको एमाले तिलोत्तमाका एक नेताले बताए ।
तल्लो तहबाट भएको निर्णयलाई उल्टाएर माथिल्लो तहका एकाध नेताले कार्यकर्ताको भावना विपरित निर्णय गर्दैमा नतिजा पक्षमा नआउने तथ्य शंकरनगर खानेपानीको चुनावले पुष्टी गरिदिएकोले यसबाट पाठ सिक्नुपर्ने ती नेताले बताए ।
कम्युनिष्ट पार्टीमा वहुमतको निर्णयलाई स्वीकार गरेर जानुपर्नेमा नगर अध्यक्षले एकलौटी ढंगले विधि पद्दति विपरित फरक उम्मेदवार अघि सारेका र त्यसलाई जिल्ला अध्यक्ष र जिम्मेवार सिनियर नेताले समेत साथ दिनुले तिलोत्तमामा मात्र नभई रुपन्देहीमा नेकपा एमाले भित्रवहुमतको निर्णय स्वीकार गरेर जानुपर्ने सर्वमान्य विधि विपरित मनोमानी र अराजकता मौलाउन थालेको त होइन भनेर पार्टी पंक्तिमा चिन्ता उत्पन्न भएको ती नेताले गुनासो गरे ।
‘विधि पद्दति मानेर पार्टीलाई एकतावद्ध रहेको सन्देश दिनुपर्नेमा भइसकेको निर्णयलाई उल्टाउने परिपाटीले आगामी दिनमा पार्टीलाई कमजोर बनाउंछ,यसतर्फ जिम्मेवार नेताको ध्यान जान जरुरी छ’–ती नेताले भने ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका चन्द्रकान्त खनाल निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसकै महेन्द्र बस्नेत बागी उम्मेदवार थिए । खनालले ४८ मत प्राप्त गरेर निर्वाीचत भएका छन् । बस्नेतले ४४ मत ल्याए ।
सचिवमा एमालेकै कमला ज्ञवाली र कोषाध्यक्षमा कांग्रेसका भीम पौडेल निर्विरोध निर्वाचित भए ।
आठवटा क्षेत्रगत संयोजक मध्ये ५ जना निर्विरोध निर्वाीचत भएका छन्, भने ३ संयोजकहरु मतदान प्रकृयाबाट निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर ५ को संयोजकमा मानबहादुर थापाले ८ मत ल्याएर निर्वाचित भएका छन्, भने उनका प्रतिपर्दी टिकाराम खनालले ७ मत ल्याएर उपविजेता बनेका छन् । क्षेत्र नम्बर ८ को संयोजकमा ८ मत ल्याएर राजेन्द्र घिमिरे निर्वाचित भएका छन्, भने उमाकान्त सापकोटाले ४ मत प्राप्त गरेका छन् ।
क्षेत्र ६ को संयोजकमा माओवादी केन्द्रका शौरभ भुसालले ८ मत ल्यार निर्वाचित भएका छन्, भने ज्ञानु आत्रेयलाई ५ मत परेको थियो। त्यस्तै क्षेत्र नम्बर १ को संयोजकमा एमालेका खिलबहादुर पौडेल, क्षेत्र नम्बर २ को संयोजकमा कांगे्रसका गोपाल थापा, क्षेत्र नम्बर ३ को संयोजकमा कांगे्रसका दुर्गबहादुर क्षेत्री क्षेत्र नम्बर ४ को संयोजकमा एमालेका पुष्करनाथ पन्त र क्षेत्र नम्बर ७ को संयोजकमा कांगे्रसका जनकलाल पाण्डेय निविरोध निर्वाचित भएका छन् ।
पुस १८ गते पार्षदको चुनाव भएपनि कांग्रेस र एमालेबीच आन्तरिक किचलोले झण्डै डेढ महिनापछि मात्रै चुनाव भएको हो । पछिल्लो समय खानेपानी, वन जस्था उपभोक्ताका संस्थामा चरम दलीय राजनीति हावी हुन थालेको भन्दै उपभोक्ताहरुले प्रत्यक्ष चुनाव हुनुपर्ने माग गर्न थालेका छन् ।




