परासी
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको खजुरा खोलामा नदीजन्य पदार्थको चरम दोहन भएको छ । प्रहरी प्रशासन र स्थानीय तहलाई छलेर व्यापक रुपमा चोरी निकासि हुँदै आएको खोला नजिकको स्थानीयको गुनासो छ ।
हरेक वर्ष खजुरा खोलामा नदीजन्य पदार्थ चोरी निकासी गर्नेहरुको मनोमानी चल्ने गरेको छ । दिनहुँजसो उत्खनन्मा आएका ट्याक्टरहरु नगरपालिकाले नियन्त्रणमा लिंदै आएको छ । तर प्रहरी प्रशासन र स्थानिय तहको आँखा छलेर रातारात अवैध उत्खनन् र डम्पिङ हुन नछाडेको स्थानीय बासिन्दा बताउँछन् ।
शुक्रबार र शनिबार मात्रै दुई दिनको अवधिमा नगरपालिकाले अवैध रुपमा डम्प गरी राखिएको ९३ ट्याक्टर र २४ टिप्पर ढुङ्गा जफत गरेको नगर प्रहरी प्रमुख पिताम्बर सापकोटाले जानकारी दिए । यसैगरी ४ टिपर मिस्कट समेत जफत गरिएको सापकोटाले बताए ।
बर्दघाट नगरपालिकाले चालू आर्थिक वर्षमा खोला ठेक्का लगाए पनि आइइइ प्रतिवेदनमा वन क्षेत्र देखिएकाले अन्तिम अवस्थामा नगरपालिकाले ठेक्का रद्ध गरेको थियो । वनले सहमति नदिएपछि ठेक्का रद्ध गर्नु परेको नगरपालिकाले जनाएको छ ।
ठेक्का लाग्न नसक्दा अवैध उत्खनन् र चोरी निकासीले खजुरामा नदीजन्य पदार्थ नै रित्तिएको छ । बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले प्रहरी प्रशासन र नगरप्रहरी अहोरात्र खटाइएको र अवैध डम्पिङ नियन्त्रणमा लिइएको जानकारी दिए ।
‘ठेक्का पनि लागेन,खोला पनि रहेन भनेजस्तो छ,प्रहरी प्रशासन नगरप्रहरी खटाएकै छौं,चौबीसै घण्टा खोलामै कुर्न पनि सम्भव भएन सक्दो नियन्त्रण गरेका छौं ।’–श्रेष्ठले भने ।
डम्पिङ जफत गरीएका नदीजन्य पदार्थको खरिद बिल, स्टक बिल समेत नरहेकाले वैधता नदेखिएको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बताए । नगरपालिकाले ट्याक्टर नियन्त्रणमा लिएर जरिवाना बापतको राजस्व काटेर मात्रै पठाउने गर्दछ । प्रहरीले ट्याक्टर समाएबापत जरिवानाको कुल रकमको भ्याट कटाएर २५% प्रोत्साहन रकम दिइने गरिएको अधिकृत खनालले जानकारी दिए ।
दिनदहाडै खजुरा खोलामा चोरी निकासी हुँदा प्रहरी प्रशासन र सरोकारवाला निकायको भूमिकाप्रति स्थानीयले आशङ्का व्यक्त गर्न थालेका छन् । यता प्रहरी प्रशासन र स्थानीय तहले ट्याक्टर नियन्त्रणमा लिए पनि राजनीतिक नेतृत्वबाट वा अन्य विभिन्न तहबाट समेत दबाब हुने गरेको आम नागरिकले सजिलै आँकलन गर्ने गरेका छन् ।
केही दिनअघि मात्रै प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुखलगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले खजुरा खोलाको स्थलगत अवलोकन गरेका थिए । स्थलगत अवलोकनका क्रममा नदीजन्य पदार्थको ठुलै परिमाणमा चोरी निकासी भएको देखिएको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले बताए ।
‘जताततै नदीजन्य पदार्थ चोरी हुने गरेको छ, तर अर्को कुरा राज्यको नीति पनि स्पष्ट छैन । वन क्षेत्र पर्यो भनेर चुरेले सहमति दिँदैन अनि ठेक्का लाग्दैन, ठेक्का नलाग्दा व्यापक चोरी हुन्छ, अनि के अर्थ । यता मिस्कट ढुङ्गा गिट्टी बालुवाको अभावमा विकास निर्माणका काम गर्न पनि कठिनाइ छ, राज्यले एउटा मापदण्ड बनाउन जरुरी छ ।’–प्रमुख यादवले भने । स्थानीय खोला नाला विविध कारणले ठेक्का लाउन नपाइने अर्कातिर कुनै पूर्वाधारको काम गर्नु पर्दा कच्चा पदार्थ कहाँबाट ल्याउने भन्ने अवस्था देखिएको जिसस प्रमुख यादवको भनाइ छ ।
बर्दघाट नगरपालिकाको वडा नम्बर ५,१४ र १६ नम्बर वडाबाट चोरीनिकासी हुने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसअघि पनि अवैध डम्पिङ पटक–पटक जफत गर्दै आएको छ, तर चोरी निकासी नियन्त्रण भने हुन सकेको छैन ।




