बुटवल । जन्मदिनमा समेत प्रयोग गरिने स्पाक्र्लसँग सम्पर्कमा आउँदा पोखरामा शनिबार एक विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भए । घाइते दुवैको किर्तीपुरस्थित बर्न अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । शनिबार पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रम थियो । प्रमुख अतिथि थिए, अर्थमन्त्री पौडेल । कार्यक्रमको अध्यक्षता महानगरका मेयर आचार्यले गरेका थिए ।
औपचारिकताबाट अगाडि बनेको कार्यक्रममा उद्धोषकले अर्थमन्त्री पौडेललाई ‘पोखरा भ्रमण वर्ष, २०२५’ को लोगो अनावरण गर्न आग्रह गरे, मेयर आचार्यलाई चाहिँ सघाउन । कार्यतालिका अनुसार नीला र राता बेलुनका दुईवटा झुत्ताहरु अर्थमन्त्री पौडेल र आचार्यलाई दिइयो । बेलुनमा पोखरा भ्रमण वर्ष २०२५ लेखिएको थियो ।
तर, बेलुन उड्न पाएनन्, एक्कासि विस्फोटको ठुलो आवाज आयो । अर्थमन्त्री मञ्चमा उक्लिए, मेयर मञ्चबाट हामफाले । विस्फोट भएको बेलुन त्यही स्पाक्र्लको झिल्काको सम्पर्कमा थियो । कार्यक्रम व्यवस्थापनमा ध्यान नदिँदा सानो झिल्कोले ठुलो आवाजसहितको विस्फोट गरायो ।
पौडेलको टाउको, घाँटी, गालामा आगोले भेट्यो । विस्फोटभित्र परेका मेयर आचार्यको चाहिँ गालामा आगोको लप्काले भेटेको छ । उनको गालामा बेलुन नै टाँसिएका थिए, जसलाई सफा गर्न खोज्दा छाला नै उक्किएको छ ।
तत्कालै उपचारको लागि उनलाई फिस्टेल अस्पताल लगियो । निकटस्थहरुका अनुसार मेयरको त्यतिबेला रक्तचाप निकै बढेको थियो । अर्थमन्त्रीलाई चाहिँ गण्डकी मेडिकल कलेज पुर्याइयो । पोखरामा सामान्य उपचारपछि शनिबार दुवै जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।
बेलुन विस्फोटको घटना सामाजिक सञ्जालभरि फैलिरहँदा उक्त बेलुनमा प्रयोग हुने ग्यासबारे धेरैले चासो राखिरहेका छन् । बेलुनमा हाइड्रोजन प्रयोगको बारेमा महानगरले नै पुष्टि गरेको छ । “कार्यक्रमको डिजिटल इनागुरेसन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरु फायर क्यान्डिलबाट निस्किएका झिल्काहरुसँग ठोक्किन पुगेपछि दुर्घटना हुन पुगेको हो,” महानगरले फेसबुक पेजमा लेखेको छ । कीर्तिपुर अस्पतालका अनुसार दुवैजनाको आईसीयूमा उपचार भइरहेको छ ।
अवस्था सामान्य भए पनि फोक्सोसम्मै धुवाँ छिरेकाले विशेष निगरानीमा राख्नुपरेको हो । कम्तिमा पनि ४८ घण्टा आईसीयूमा राखेपछि थप अवस्थाका बारेमा जानकारी गराउन सकिने अस्पतालले आफन्तलाई जानकारी गराएको छ ।
मन्त्री र मेयरको उपचारमा संलग्न चिकिस्सक डा. विशाल कार्कीले दुवै जनाको अवस्था अहिले बिहानसम्म सामान्य रहेको बताए ।“आज बिहानसम्म दुवैजनाको प्रेसर, पिसाबलगायतका स्वास्थ्य अवस्था नर्मल छ,” उनले कुरा गर्दै भने, “दुवैजनाको फोक्सोमा धुवाँ छिरेकाले विशेष निगरानीका लागि आईसीयूमा राख्नु परेको हो । अझै केही दिन राख्नुपर्छ ।”
मेयर आचार्यभन्दा अर्थमन्त्री पौडेलको जलन बढी रहेको अस्पतालले जनाएको छ । अर्थमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार आईसीयूमा ४८ घण्टासम्म राख्नुपर्ने चिकित्सकको सुझाव रहेको छ ।




