परासी । पश्चिम नवलपरासीमा दुई दिने रामग्राम खाना महोत्सव ( फुट फेष्टिभल ) हुने भएको छ ।
नेपाल आदिवासी जानजाति महांसघ नगर समिति नवलपरासीको आयोजना तथा रामग्राम नगरपालिको सहयोगमा दुई दिने रामग्राम खाना महोत्सव ( फुट फेष्टिभल ) सञ्चालन हुने भएको हो ।
रामग्रामको वडा नं. ५ स्थित रहेको घण्टा घरमा यही फागुन १२ देखि १३ गते सम्म रामग्राम खाना महोत्सव ( फुट फेष्टिभल ) सञ्चालन गर्न लागिएको आदिवासी जानजाति महांसघ नगर समिति नवलपरासीका अध्यक्ष भवानी शंकर चौधरीले जानकारी दिए । घण्टाघर चोकदेखि पाइपास रोडसम्म करिव १ सय खाना सम्बन्धी स्टल रहने गरी दुई दिवसीय खाना महोत्सव हुने भएको हो ।
महोत्सवमा मौलीकता झल्कने गरी खानाको परिकार साथै विभिन्न भेषभुषा प्रदशनी गर्ने गरी स्टलहरुको व्यवस्थापन गरिने मुल समारोह व्यवस्थापन समितिका संयोजक अवीनाश रेश्मीले जानकारी दिए ।
महोत्सवले विभिन्न समुदायको पहिचान झल्काउने मुल आयोजक समितिका संयोजक अशोक श्रेष्ठले बताए
सबै खानासम्बन्धी स्टलहरुलाई निःशुल्क उपलब्ध गराइने महोत्सवमा मुख्य आर्थिक सहयोगीको रुपमा रामग्राम नगरपालिका रहेको छ ।
उक्त महोत्सवमा ईन्दीरा जोशी, प्रमोद अग्रहरिलगायतका कलाकारहरुको प्रस्तुति रहने अध्यक्ष भवानी शंकर चौधरीले जानकारी दिए । महोत्सवमा करिव १० हजार जना व्यक्तिहरुले अवलोकन गर्ने लक्ष्य रहेको छ । महोत्सवमा १० लाख खर्च हुने अनुमान गरेको आयोजकले जनाएको छ ।




