भैरहवा । भारतको ओडिसा भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको पार्थिव शरिर बुधबार राती नेपाल ल्याइ अन्तेष्टि गरिएकाे छ ।
परिवारले राती १२ बजे पछि भैरहवा स्थित स्वर्गद्वारी घाटमा उन्को अन्तिम संस्कार गरेको हाे । केआइआइटी स्नातक अन्तिम वर्षमा अध्ययनरत भैरहवाकी छात्रा प्रकृतिको शव शंकास्पद रुपमा छात्रावासमा भेटिएको थियो । आइतबार विश्वविद्यालयको छात्रावासमा मृत अवस्थामा फेला परेकी उनको मंगलबार पोष्टमार्टमपछि उनको शव परिवारको जिम्मा लगाइएको थियो। भैरहवाकी २१ वर्षिय लम्सालको शव पोष्मार्टम पछि दिल्ली हुदै गोरखपुर उडान मार्फत आएको हो ।
रुपन्देहीको बेलहिया नाका हुदै गएको एम्बुलेन्सबाट शव राती भैरहवा ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए । लम्सालका बुबा सुनिल लम्साल लगायतले प्रकृतिको शव लिएर बिहान १० बजे भारतको ओडिसास्थित भुवनेश्वरबाट हिंडेका थिए, शव पहिलो विमानमा आएकोले बुवा आउन केही समय लाग्ने भएकोले यताबाट प्रकृतिका मामा शिव शर्मा सहितको टोली गोरखपुर एयरर्पोट शव बुझी ९ बजे बेलहिया हुदै भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज लागिएको थियो ।
करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर वडा नम्बर ८ मा ल्याई त्यहा अन्तिम श्रद्धान्जली दिई १२ बजे पछि मात्र बाहिर निकालिएको थियो । शवयात्रामा आफन्त संगै उनलाई अन्तिम श्रद्धान्जली दिन कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत् उनका सहपाठीहरुको पनि उपस्थिति रहेको थियो । शवलाई राती नै भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पु¥याएर उनको अन्तेष्टि गरिएको थियो । ओडिसा राज्य सरकारले मंगलबार घटनाबारे छानविन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ । भुवनेश्वर प्रहरीले घटनाको आरोपमा विश्वविद्यालयमा अध्यनरत छात्र अद्विक श्रीवास्तवलाई पक्राउ गरेको छ । साथै, प्रहरीले अनुसन्धानका लागि विश्वविद्यालयका पाँच जना कर्मचारीलाई पक्राउ गरेपनि अदालतले धरौटीमा रिहा गरेको छ ।भारतीय प्रहरीले घटनाकाे थप अनुसन्धान गरिरहेको छ ।
उता विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि विकसित परिस्थितिमा टाइम्स अफ इण्डियाले सम्पादकीय नै लेखेको छ । टाइम्स अफ इण्डियाले ‘भारतले आफैंलाई शिक्षित गरोस्’ शीर्षकमा सम्पादकीय लेखेको हो ।
नेपाली विद्यार्थीहरुमाथि भएको दुर्व्यवहारको आलोचना गर्दै लेखिएको छ, ‘भारतलाई शिक्षाको केन्द्र बनाउने लक्ष्य राखेको भारतीय सरकारका लागि यो घटनाले गम्भीर प्रश्न खडा गरेको छ ।’
सन् २०१४ मा दिल्लीका एक मन्त्रीले नाइजेरियन नागरिकहरूमाथि गरेको दमन, कोरोना महामारीका बेला भारतका उत्तरपूर्वी नागरिकहरूलाई ‘चिनियाँ’ भन्दै गरिएको भेदभाव र अहिले नेपाली विद्यार्थीहरुमाथि गरिएको अपमानजनक व्यवहारले विदेशी विद्यार्थी आकर्षित गर्ने भारतको सपना अधुरो हुने चेतावनी दिइएको छ
बेलहिया नाका हुदै २२ जना फर्किए , थप आउदै
भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् २२ जना विद्यार्थीहरु बेलहिया नाका हुदै नेपाल फर्किएका छन् ।
लम्सालको शंकास्पद मृत्युपछि सृजित परिस्थिति पछि विश्वविद्यालयले नेपाली विद्यार्थीहरुलाई छात्रावासबाट अमानवीय व्यवहार गर्दै निस्कासित गरेसँगै अध्ययनरत नेपाली विद्यार्थीहरु फर्किन लागेका हुन ।रुपन्देही जिल्ला घर भएका विद्यार्थीहरु विभिन्न समयमा घर फिर्ता भएका हुन् । भारतबाट आ–आफ्नै तरिकाले आएका विद्यार्थीहरुलाई प्रहरीले आवश्यक विवरण लिई घर तर्फ पठाएको छ ।
घर फर्किएका मध्ये अधिकांस रुपन्देही जिल्लाकै रहेका छन । आएका विद्यार्थीका अनुुसार थप साथीहरु आउने क्रम जारी छ, घटना पछि नेपाली विद्यार्थीहरु ठुलो संख्यामा फर्किदै छन ।
काँकडभिट्टा नाका हुदैँ १६ जना भित्रिए
भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले निकालेकामध्ये १६ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन । उनीहरू बुधबार झापाको काँकडभिट्टा नाकाबाट स्वदेश फर्किएका हुन ।
घर फर्किनेहरू सप्तरी राजविराज–२ तित्रीगाछीका आरती रोही, सालिमी दास, रिसक सिंह,आयुष राज, प्रजित यादव, कृष दास, राकेश साह,नवीन मण्डल रहेका छन ।
त्यस्तै सुनसरी इनरुवा –१ का ओमप्रसाद पोद्धार, मोरङ विराटनगर–१२ का आदित्य मिश्र, कास्की पोखराका सुलभ पौडेल,आयुष अधिकारी, काठमाडौँ–१० पुरानो बानेश्वरका समिम पौडेल, ललितपुर महालक्ष्मी–४ हात्तीबनका आकाश शाह, काठमाडौँ–१३ ताहाचलका पीयूष शाह र काठमाडौँ गोकर्णेश्वर– ७ का बिकेश श्रेष्ठ रहेका छन । काँकडभिट्टाबाट नेपाल प्रवेशका गरेका उनीहरू आ–आफ्नो गन्तव्यतर्फ लागि सकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




