कृष्ण पोखरेल
पाल्पा
प्रजातन्त्र दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले निःशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा सुगर, ब्लड प्रेसर, मृगौला परीक्षण तथा उचाई र तौल नापजाँच गरिएको हो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नसर्ने रोगको प्रारम्भिक पहिचान, तथ्याङ्क संकलन र रोकथामका लागि देशभर फागुन महिनाभरी ३० वर्षभन्दामाथि उमेरका सबै व्यक्तिहरुमा स्क्रिनिङ्ग कार्यक्रमलाई सफल बनाउन प्रजातन्त्र दिवसको अवसरमा शिविर सञ्चालन गरिएको हो ।
अहिले नेपालमा नसर्ने रोग अन्तरगत मधुमेह, उच्च रक्तचाप, मृगौला तथा उच्चतौल भएका रोगीहरुको संख्या दिनप्रतिदिन तीव्र रुपमा बढ्दै गएको छ । सरकारले, नसर्ने रोगलाई न्यूनीकरण गर्नको लागि पाल्पाका १० वटै पालिकाका स्वास्थ्यचौकी, अस्पताल, जिल्ला तथा क्षेत्रीय अस्पतालहरुमा निःशुल्क सुगर, ब्लड प्रेसर, मृगौला परीक्षण तथा उचाई र तौल नापजाँच गर्दै आएको छ ।
नागरिकहरुको परीक्षण तथा चेकजाँच दर बढाउन, यो अभियान सफल बनाउन प्रजातन्त्र दिवसको अवसरमा समेत जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले परीक्षण डेक्स स्थापना गरी, चिकित्सकको सहभागितामा निःशुल्क रुपमा सुगर, ब्लड प्रेसर, मृगौला परीक्षण तथा उचाई र तौल नाप तथा परामर्श कार्यक्रम गरेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताए ।
प्रजातन्त्र भनेकै जनतालाई खुसी, सुखी, निरोगी बनाउँदै समृद्धि बनाउने हो । बढ्दै गएको सुगर प्रेसर जस्ता जटिल दिर्घरोगको कारण अन्य रोग निम्तिने भएकोले आफू पनि चेकजाँच गरौं अरुलाई पनि चेकजाँचमा सहयोग गरांै, कोही पनि नछुटौ भन्ने अभियानका साथ सरकारले शुरु गरेको महाअभियानलाई सफल बनाउन प्रजातन्त्र दिवसमा यो कार्यक्रम गरेमो प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जनाए ।
पाल्पा दरबार परिसरमा सञ्चालन गरिएको चेकजाँच तथा परीक्षण कार्यक्रममा जिल्लाका राजनीतिकदल, कर्मचारी, नागरिक समाज, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार, सुरक्षाकर्मीहरु तथा सर्वसाधारणहरुको सहभागिता रहेको थियो । चेकजाँचमा अधिकांश व्यक्तिहरुको शरीरलाई आवश्यकताभन्दा बढी तौल भएको, केही सुगर तथा प्रेसर बढी भएका व्यक्तिहरु भेटिएको परीक्षण कार्यमा सहभागी पाल्पा अस्पतालकी चिकित्सक डा. मिनुकाकुमारी रजतले बताइन् ।
पाल्पाको विभिन्न स्वास्थ्य संस्थामा पनि यो अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ । स्थानीय स्वास्थ्यकर्मीहरूले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गर्दै आवश्यक सल्लाह सुझाव प्रदान गरिरहेका छन् । स्वास्थ्य नै धन हो भन्ने भनाइलाई बलियो बनाउन, यस्तो स्क्रिनिङ् अभियानले नागरिकहरूलाई सचेत गराउनुका साथै समयमै रोग पहिचान गर्न सहयोग गर्नेछ ।




